काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यथास्थितीवादले अब मुलुक नचल्ने बताउनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले आफ्ना सुझाव सरकारले कार्यान्वयन गर्ने नगरेप्रति पनि आपत्ति जनाउनुभयो ।
कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिइएको अध्यक्ष केसीले बताउनु भयो ।
उहाँले आफूहरुले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको बताउनुभयो ।
अध्यक्ष केसीले भन्नु भयो, ‘अहिले अब नीति, कार्यक्रम आउँदैछ सरकारको । त्यसमा चाँही अहिलेको अर्थ व्यवस्था, मुलुकको अवस्था यसबारेमा चाँही छलफल भयो । र, केही माननीयजीहरुले सुझाव दिनु भयो । समय नभएको हुनाले हामीले सुझाव भरेभोली लेखेर दिने कुरा छ । अब हाम्रा सुझाव कार्यान्वयन हुने भए त धेरैठाउँ लथालिंग छ राष्ट्रको । कृषिमा, उद्योगमा, शिक्षामा, स्वास्थ्यमा कहाँ छैन गडबडी ? त्यसकारणले त्यो सुधार गर्नु पर्छ । नयाँ शीराबाट जानु पर्छ ।
यथास्थितिवादले अब मुलुक धानिन्न भन्ने नै कुरो हो नि हाम्रो त । सुझाव कार्यान्वयन हुँदैन । त्यो कार्यान्वयन गर्नुपर्छ हाम्रो सुझाव हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनु भएको हो ।
सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसैका लागि सुझाव लिन मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री दाहालले सो सम्बन्धमा सत्तारुढ दलका नेताहरुको पनि सुझाव लिनु भएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनु भयो ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरुको सहभागिता थियो ।