काठमाडौं । नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार पुष्प ढुंगानाले सञ्चारमान्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि डिल गरेको समाचार प्रकाशन नभएको भन्दै राजिनामा दिनुभएको छ ।
आफूले तयार गरेको समाचार पत्रिकाले छाप्न नमानेको भन्दै पत्रकार ढुंगानाले फेसबुकमा स्ट्याटस लेखेर राजीनामा दिनुभएको हो ।
ढुंगानाले फेसबुकमा लेख्नुभएको छ, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा की मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैयाँ घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’
सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रुपैयाँ कमिशन मागेको अडियो हालै सार्वजनिक भएको छ । सोही विषयलाई पत्रिकाले स्थान नदिएपछि पत्रकार ढुंगानाले राजीनामा दिनुभएको हो ।