काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने बताउनुभएको छ ।
मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताउनुभएको हो ।
उहाँले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताउनु भयो ।
उहाँले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानूनी दायरामा ल्याउने सरकारको काम भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भूटानी शरणार्थी बनाएर पठाउने जुन केस हो, अहिले अनुसन्धान सकिएको छैन । अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ, प्रहरी त्यसैअनुसार अघि बढेको छ ।’
मन्त्ती श्रेष्ठले अनुसन्धानले पुयाउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानूनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबाबकोक अघि झुक्नेछैन । कुनैपनि दबाबको अघि झुक्नेछैन, अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ ।’