काठमाडौं । आज एकै समयमा प्रतिधिसभाको १० वटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ सिंहदरबारमा बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।
संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्यले गर्नेछन् ।
प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा समिति रहेका छन् ।
संसद्का काम कारबाहीलाई व्यवस्थित रूपले सम्पादन गर्न संसदीय समिति प्रणाली विकसित भएकाले सभाका कामलाई सघाउने गर्ने गरेको छ ।
मुलुकका प्रमुख राजनीतिक दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको छ । विगतदेखिकै अभ्यासअनुरूप सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्दै आएको छ ।
प्रतिनिधिसभा गठन भएको ६ महिनापछि संसदीय समिति क्रियाशील हुन लागेका हुन् ।
सभामा ठूलो सङ्ख्या हुने भएको र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्याउन चुनौती खडा हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा आएका हुन्। अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ।
नयाँ नियमावलीले साविकका केही समितिको नाम र कार्यक्षेत्रमा केही समान्य हेरफेर गरेको छ। सभाबाट गत वैशाख १५ गते ती समिति गठन भएको घोषणा भएको थियो।