कैलाली । कैलालीको अत्तरियामा एक जोडीको प्रगतिशील विवाह भएको छ । नवबिवाहित जोडीले विवाहमा लाग्ने खर्च जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने गरी अक्षयकोष समेत खडा गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका नेता एवं अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे एवं महिला संघकी केन्द्रीय सदस्य कुन्ती पाण्डेका छोरा जापान पाण्डे र मनिता रावतले जनवादी विवाह गरेका हुन् ।
बैवाहिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा वरिष्ठ बामपन्थी नेता रामचन्द्र भट्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यद्वय मनोज भट्टले नव जोडीलाई शुभकामना दिनुभएको थियो । यस्तै, अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेय, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव खगेश्वर शर्मा, नेकपा (मसाल)का कैलाली जिल्ला प्रवक्ता मिलन शाही, राजमो कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्की, राजमो कैलाली अध्यक्ष दयाराम सञ्ज्याल, नेकपा (क्रान्तिकारी माओवादी) कैलालीका सेक्रेटरी रुद्र कँडेल, नेपाली कांग्रेसका गोपाल भट्ट, नेकपाका नेता डिल्लिराज भट्ट तथा आफन्तले शुभकामना दिनु भएको थियो।
दुलाहाका बुवा हरिकृष्ण पाण्डेको अध्यक्षतामा भएको बैवाहिक कार्यक्रमको सञ्चालन लक्षीराम आचार्यले गर्नु भएको थियो भने स्वागत संक्रान्ति भट्टले गर्नु भएको थियो ।
बिवाहको अबसरमा दुलाह दुलहीले गोदाबरी नगरपालिका २ को सुदूरपश्चिम माविमा जेहेन्दार विद्यार्थीका लागि ‘जापान–मनिता’ अक्षकोष खडा गरी प्रधानअध्यापक नगेन्द्रनाथ योगिलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो ।