काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार थप ४ दिन म्याद थप भएको हो।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए। उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन्।
सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ। हाल उनी फरार छन्। उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन्।
बालकृष्णको बयान भोलिदेखि
सो प्रकरणमा पूर्व गृहमन्त्री खाँणको सोमबारदेखि बयान हुने भएको छ।
बालकृष्णको बयान लिनुअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारयाण पाण्डेको बयान लिएका हुन्।
टेकनारायणको बयान दुई चरणमा भइसकेको छ। नरेन्द्रको भने आइतबार बयान गराइएको हो।
पक्राउ परेका ११ जनाको बयान सकिएको छ। तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन्। अब खाँणको मात्रै बयान बाँकी छ।