ज्ञामुराम न्यौपाने ##
अधिकांश भुटानी शरणार्थीलाई पुनर्वास गराइए पनि केही शरणार्थी अझै अलपत्र परेका छन् । त्यसैले तिनीहरूको स्थायी समाधान गर्ने भनेर केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ असाल २९ गते सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले काम गरिरहेकै बखत् सत्ताकै राजनीतिक संरक्षणप्राप्त गिरोहले अमेरिकी सपना देखाएर कैयन् नेपालीबाट पाँच लाखदेखि ५० लाखसम्म रकम जम्मा गरेर ८७५ नक्कली भुटानी शरणार्थीको सूची तयार पारेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुलो परिमाणमा भ्रष्टाचार गरेको विषयमा पूर्व उपप्रधानमन्त्री तथा एमाले पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री वालकृष्ण खाँड र उनका स्वकीय सचिव नरेन्द्र केसी, एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका सुरक्षाविद इन्द्रजित राई र उनका छोरा निरज राई संलग्न रहेको विषय बाहिर आइसकेको छ । अधिकांशलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण एउटा व्यक्ति वा समूह मात्र जोडिएको अपराध होइन । शरणार्थी मामिला नेपालसँग मात्र जोडिने विषय पनि होइन । यो संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय जगत्को समेत ध्यानाकर्षण हुने विषय हो । यसमा जो जो मुछिएका छन्, त्यसबाट प्रष्ट हुन्छ कि यो सिङ्गो राज्यसंयन्त्रकै मिलेमतोमा भएको गम्भीर अपराध हो । यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर झुकेको छ।
यसैबिच प्रचण्ड, ओली र देउवाको निरन्तरको बाक्लिँदै भेटले कैयन् संशय उत्पन्न भएको छ । एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएका आआफ्ना नेताको संरक्षणमा उनीहरूले के के तानाबाना बुनिरहेका छन् ? यो त भविष्यले नै बताउने छ ।
यति जस्तो ठुलो काण्डको मुद्दामा के अपराधीमाथि वास्तवमै कारबाही होला वा विगतमा जस्तै बेसरी हल्ला गर्ने र निकम्मा प्रमाण बनाएर अदालतबाट अपराधीलाई सुनियोजित ढङ्गले सफाई दिलाइने छ ? यो पनि निकट भविष्यमा खुल्ने नै छ ।
अमेरिका पुर्याउने सपना देखाएर कैयन् नेपालीबाट पाँच लाखदेखि ५० लाखसम्म रकम सङ्कलन गर्ने गिरोह र राजनीतिक नेतृत्वको साँठगाँठबाट कथित छुटेका शरणार्थीको समस्या समाधान गर्ने भनिएको थियो । धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न भन्दै उक्त गिरोहले नै कार्यदल गठन गर्ने गुरुयोजना बनाएको थियो ।
नेपाल अन्तर्राष्ट्रिय जगतमा भ्रष्टाचारको लागि बदनाम छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको गत वर्षको अध्ययनमा नेपाल विश्वको अट्ठाइसौँ भ्रष्ट राष्ट्रको रूपमा चिनिएको थियो । नक्कली भुटानी शरणार्थी काण्डले नेपाल अन्तराष्टिय जगत्मा अझ बदनाम भएको छ। सिङ्गो राज्यसत्ताको संलग्नतामा भएको इतिहास बिर्साउने कालो काण्डले नेपालको राजनीति स्तर र राजनैतिक दल/सत्ताको चरित्रलाई उदाङ्गो बनाएको छ ।