काठमाडौं । काठमाडौं महानगरपालिकाले तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान सोमबारदेखि सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिका, दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिबीच आइतबार भएको सहमतिअनुसार महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउन थालिएको हो। नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थित गर्ने अभियान थालेका छन् ।
दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको थियो।
आज बिहान ८ बजे माइतीघर मण्डला र न्युरोड क्षेत्रका सडक किनारका पोलमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तार हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम थालिएको हो।
प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउन यस्तो ‘रुटिन’ प्लान’ बनाइएको छ :
–माइतीघरदेखि एयरपोर्ट
–त्रिपुरेश्वर देखि महाराजगञ्ज
–न्युरोड–वसन्तपुर हुँदै असन
–माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी
–भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी
–डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसी रिङ
–नक्साल–बालुवाटार हुँदै शीतल निवास
–माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी
–लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी
–सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भू
–सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला
–गौशाला–बौद्वनाथ
–कालिमाटी–कुलेश्वर हुँदै बल्खु