काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बुधबार अर्घाखाँचीमा पत्रकारमाझ काठमाडौं जाँदैछु भनेका रायमाझी काठमाडौं नआएर बाटोबाटै सम्पर्कविहीन भएका हुन् ।
रायमाझी भैरहवामा लुकेको प्रहरीले आशंका गरेको छ ।
बुधबार बेलुका रायमाझीका पुत्र सन्दीपलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज काठमाडौं ल्याइएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा बुधबार पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो। सोही प्रकरणमा मुछिएका टोपबहादुर सम्पर्कविहीन भएका हुन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी भरत विकले जानकारी दिनुभयो ।
हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।
यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्।
पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भन्छन् : ठगी प्रकरणमा जोडिएकासँग घुम्नमात्रै गएको हुँ