काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हीरक जयन्ती मनाउनु भनेको नेकपा इतिहासको पुनस्मरण गर्नु भएको बताउनुभएको छ ।
नेकपा (मसाल) काठमाडौँको आयोजनामा २०८० वैशाख १८ गते तदनुसार मे १, २०२३ शुक्रबारका दिन राजमो केन्द्रीय कार्यालय कपनमा आयोजिक एक कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
एक सय चौतिसौँ मेदिवस तथा नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानको उद्घाटन गरिएको उक्त कार्यक्रममा अध्यक्ष केसी प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इतिहास नपढ्नेहरू नै निराश हुने गरेको बताउनुभयो ।

‘हामीले देखेका छौँ, जसले इतिहास पढ्दैनन्, उनीहरू नै कम्युनिस्ट आन्दोलनदेखि निराश हुन्छन्’ अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘विश्व र नेपालको इतिहास हेर्नुस्, असाध्यै अप्ठ्यारो परिस्थितिमाझ कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने गरेको छ ।’
सम्बोधनको क्रममा उहाँले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको सन्दर्भ दिँदै उक्त तर्क राख्नुभएको थियो ।
‘तपाईं हामीलाई थाहै छ त, नेकपाको दोस्रो महाधिवेशनद्वारा निर्वाचित महामन्त्री नै बहुमतसहित दरबार पसे’ उहाँले भन्नुभयो– ‘के त्यो कारणले नेपालको कम्युनिस्ट आन्दोलन समाप्त भयो त ?’
अध्यक्ष केसीको भनाइ थियो– ‘हामीलाई वैराग लागेको किन हो भने इतिहास नपढेर ।’
सांसदसमेत रहनुभएका केसीले कम्युनिस्ट पार्टीमा अन्तरविरोध आउँदासाथ पार्टी छोड्नुको कारण कठिनाइसँग जुध्न नसक्ने मनस्थितिका कारणले भएको बताउनुभयो ।
‘पार्टीभित्र अन्तरविरोध उत्पन्न हुनेबित्तिकै मानिसहरू किन पार्टी छोडेर हिँड्छन्, तपाईंलाई थाहा छ नि’ उहाँले भन्नुभयो– ‘उनीहरूमा यस्तो अप्ठ्यारो बाटो हिँड्ने साहस हुँदैन र पछि हट्छन् ।’
अध्यक्ष केसीले थप्नुभयो– ‘हामीले यस्तो अठोट लिनुपर्दछ, अरू सबैले कम्युनिस्ट आन्दोलन छोडे पनि, अरू सबै बिग्रिए पनि म एक्लै भए पनि उभिनुपर्दछ । तब मेरा पछाडि अरू मानिसहरू उभिने छन् ।’
सम्बोधनको क्रममा अध्यक्ष केसीले लेनिनको योगदानकै कारण विश्व कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको बताउनुभयो ।
लेनिनको यस्तै योगदानलाई स्मरण गर्दै उहाँले तीन ऐतिहासिक अभियानअन्तर्गत लेनिनको शताब्दी स्मृतिदिवस मनाउन लागिएको बताउनुभयो ।
उहाँले यस अभियानअन्तर्गत विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको योगदानबारे प्रशिक्षण गरिने तथा त्यसबारे पुस्तक प्रकाशन गरिने बताउनुभयो ।
त्यस्तै, उहाँले नेकपा (मसाल) को आठौँ महाविधेशन सम्पन्न भएको चार वर्ष पूरा भएकाले यसै अवधिमा नियमित प्रकृयाअनुसार महाधिवेशन गरिने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता आनन्द शर्माले नेपालको कम्युनिस्ट आन्दोलनमा रूपान्तरण गर्नका लागि नेकपा (मसाल) ले ऐतिहासिक तीन अभियान सञ्चालन गर्न थालेको बताउनुभयो ।
उहाँले मेदिवस विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक दिन भएको बताउँदै यही सन्दर्भ पारेर ऐतिहासिक तीन अभियानको उद्घाटन पनि गरिएको बताउनुभयो ।

‘मेदिवस ऐतिहासिक दिवस हो’ उहाँले अगाडि भन्नुभयो– “यसै वर्ष नेकपा स्थापना भएको ७५ वर्ष पुग्दै छ । यसै वर्ष लेनिनको निधन भएको एक सय वर्ष पुग्दै छ र यसै वर्ष नेकपा (मसाल) को नवौँ महाधिवेशन गर्ने समय आएको छ । यिनै सन्दर्भमा हामीले ऐतिहासिक तीन अभियान सञ्चालन गर्दै छौँ ।’
सम्बोधनको क्रममा उहाँले पछिल्लो समयमा नेपालमा अमेरिकी साम्राज्यवादको भूमिका प्रत्यक्ष रूपमा नै बढेको बताउनुभयो ।
‘अब अमेरिकी साम्राज्यवादले प्रत्यक्ष रूपमा नै आफ्नो पक्षमा काम गर्ने राजनीतिक शक्ति उभ्याउने गरी काम गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘रवि लामिछाने नेतृत्वको कथित राष्ट्रिय स्वतन्त्र पार्टी नेपालमा अमेरिकी स्वार्थपूर्तिको उद्देश्यद्वारा गठन गरिएको पार्टी हो ।’
उहाँले अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी चरित्रको पर्दाफास गर्नका लागि राजमोले १५ दिने मेची–महाकाली अभियान सुरु गरिने जानकारी पनि दिनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा नेकपा (मसाल) नै दूरदर्शी पार्टी भएको बताउँदै उहाँले ठोकुवा गर्नुभयो– ‘नेपाली जनताको मुक्ति नयाँ जनवादी क्रान्तिपछि सुरु हुने छ र त्यसको नेतृत्व गर्न नेकपा (मसाल) सक्षम छ ।’
नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंहको अध्यक्षता तथा अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले स्वागत मन्तव्य तथा ऐतिहासिक तीन अभियानसम्बन्धी पार्टीको दस्तावेज वाचन गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल ट्रे युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्की, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल महिला सङ्घकी कोषाध्यक्ष ऋतु केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार नीलगोविन्द महर्जन र अखिल नेपाल शिक्षक सङ्घका पूर्व केन्द्रीय सल्लाहकार जालन्धर बन्जाडेले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य लालबहादुर थापाको पनि आतिथ्य रहेको थियो ।
