काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्कनु भएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उहाँ आईतबार साँझ स्वदेश फर्कनु भएको हो ।
त्यस क्रममा उहाँले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नु भयो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताउनु भयो ।
उहाँले सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गर्नु भयो । प्रतिनिधिसभा सदस्य समेत रहनु भएका सांसद भण्डारीले भन्नु भयो, ‘एउटा ठूलो दूर्घटनाबाट हामी आएका छौं । हुन त नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाई दिदीबहिनिहरुले आगजनीको कारण ज्यान गुमाउन परेको छ । मैले पनि मेरो आमालाई हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएको छु । मैले भर्खर मात्रै थाहा पाएको हुँ कि आमा हुनुहुन्न भनेर ।’
उहाँले थप्नुभयो, ‘मलाई खुशी लागेको मैले अहिले थाहा पाए । जुन दिन दूर्घटना भएपछि औषधि उपचार गर्न लगियो । त्यही दिन नै सरकारले अर्को बर्न हस्पिटल बनाउने अर्को निर्णय गरेको रहेछ । यसलाई हामी सबैले मिलेर बनाउनु पर्छ । अब नेपालीहरुले बाहिर गएर हस्पिटल बनाउने होइन, यसको नेतृत्व हामीले गर्नु पर्छ । यसको नेतृत्व म गर्न तयार छु भन्ने कुरा म राख्न चाहन्छु ।’
स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँ स्वदेशमै बसेर उपचार गर्नेगरी स्वदेश फर्कनु भएको हो । उहाँ गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते हुनु भएको थियो । सोही घटनामा घाइतु हुनु भएका नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।