काठमाडौँ । अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्ले वार्षिक कार्यक्रम तय गरेको छ ।
२०८० वैशाख १५ र १६ गते रुपन्देहीको बुटवलमा सम्पन्न राष्ट्रिय परिषद्ले सो कार्यक्रम तय गरेको हो ।
सङ्घकी अध्यक्ष मीना पुनले वैशाख १६ गते शनिबार जारी गर्नुभएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।
प्रेसवक्तव्यमा २०८० जेठदेखि चैतसम्मको कार्यक्रम उल्लेख गर्दै सो कार्यक्रम सम्पन्न गर्नका लागि सबैसित अपिलसमेत गरिएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“अखिल नेपाल महिला सङ्घको प्रथम राष्ट्रिय परिषद् २०८० वैशाख १५ र १६ गते अध्यक्ष मीना पुनको अध्यक्षतामा बस्यो । बैठकले विभिन्न विषयमा गरेका निर्णयको जानकारी गराउन यो वक्तव्य जारी गरिएको छ ।
परिषद्को उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले गर्नुभयो । बैठक सफलताको शुभकामना दिनेहरूमा वामपन्थी नेता आनन्द शर्मा, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल वुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गा खरेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल (छैठौँ) का केन्द्रीय सदस्य सागर बेल्बासे हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव सकुन्तला राना र कार्यक्रमका सम्पूर्ण सहभागीलाई मन्तव्यद्वारा उपाध्यक्ष पद्मा पण्डितले स्वागत गर्नुभएको थियो ।
दोस्रो चरणमा बन्दशत्रको कार्यक्रम सुरु भयो । बन्दशत्र सञ्चालनका लागि लक्ष्मी बास्कोटा, कल्पना पोख्रेल र बालकुमारी आचार्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डल चयन गरियो । अध्यक्ष मण्डलको अध्यक्षता कल्पना पोखे्रलले गर्नुभयो र सञ्चालन लक्ष्मी बास्कोटाले गर्नुभयो ।
राष्ट्रिय परिषद्मा विभिन्न समसामयिक राजनीति र महिला सङ्गठनको समस्यासम्बन्धी, ऐतिहासिक भौतिकवाद र सङ्गठन तथा अनुशासनसम्बन्धी तथा महिला मुक्तिको प्रश्न आदि विषयमा छलफल र प्रशिक्षण भएको थियो । प्रशिक्षकहरूमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंंह, सुरेश थापा, दुर्गा खरेललगायत हुनुहुन्थ्यो ।
सङ्घका अध्यक्ष मीना पुनले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र आगामी कार्यक्रम हाउसबाट प्राप्त सुझावलाई समेत समावेश गर्ने निर्णयका साथ सर्वसम्मतिले पारित गरियो । परिषद्ले विभिन्न विशेष प्रस्ताव पनि पारित गरेको छ ।
परिषद्ले सङ्गठनसम्बन्धी वार्षिक कार्यक्रम योजना तर्जुमा गरेको छ । ती कार्यक्रम निम्नानुसार छन् :
१. २०८० जेठ महिनाभरि प्रदेश, जिल्ला, पालिका र वडास्तरका बैठक गर्ने ।
२. २०८० असार र साउन महिनाभरि सदस्यता वितरण र भेटघाट गर्ने ।
३. २०८० भदौ महिनामा जिल्लास्तरका प्रशिक्षण सञ्चालन गर्ने ।
४. २०८० असोजमा सङ्गठनात्मक अभियान सञ्चालन गरी पालिका, वडा तथा व्यापक रूपमा टोल समिति निर्माण गर्ने ।
५. २०८० कात्तिकमा केन्द्रीय समितिको बैठक बस्ने ।
६. २०८० मङ्सिर–पुसमा प्रकाशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने ।
७. २०८० माघ र फागुनमा सङ्गठन नभएका जिल्लामा सङ्गठन बनाउने ।
८. २०८० चैतमा केन्द्रीय समितिको बैठक बस्ने ।
९. २०८० सालको अवधिमा सदस्यता वितरण, भैलो, प्रकाशन तथा विभिन्न सहयोगबाट आर्थिक सङ्कलन गर्ने ।
उपर्युक्त कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न नेता–कार्यकर्तालाई जिम्मेवारी दिइएको छ । यसका साथै हाम्रो सङ्गठनको उपर्युक्त कार्ययोजनालाई सफल पार्न सहयोग गर्नका लागि हामीले सम्पूर्ण जनतासित हार्दिक अपिल गर्दछौ ।”