काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १३ स्थायी घर भई हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २५ की सयना श्रेष्ठ रहेकी छन्।
श्रेष्ठसमेतले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया जानको लागि ३० लाख रुपैयाँ लाग्छ, अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु मासिक ३ लाख भन्दा बढी तलब हुन्छ भनी प्रलोभनमा पारी ३० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितले सो सम्बन्धी उजुरी वैदेशिक रोजगार विभागमा दिएपछि विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो। विशेष प्रहरी टोलीले सयना श्रेष्ठको खोजतलास गर्ने क्रममा आज लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको जनाएको छ।