काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत आइतबार मतदान भएको तीन जिल्लामध्ये तनहुँमा मतगणना भइरहेको छ । तनहुँ–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम गरेका छन् ।
सोमवार मध्याह्न १६ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनाल फराकिलो मतले पछि परेका छन्।
तनहुँका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार वाग्लेले ११ हजार ४२८ मत पाउँदा भट्टराईले ६ हजार ४६५ र खनालले ३ हजार ७ सय ४८ मत ल्याएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार अहिलेसम्म त्यहाँ १६ वटा वडाको २२ हजार ३५८ मतगणना भइसकेको छ।
यो क्षेत्रमा गत मंसिरमा ५४.०३ प्रतिशत मत खसेको थियो। उपनिर्वाचनमा ५३ प्रतिशत मात्र मत खसेको विवरण छ।
सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समितिका दुईवटा हलको दुई ठाउँमा मध्यरातदेखि गणना सुरु गरिएको जानकारी जिल्ला निर्वाचन कार्यालय तनहुँले दिएको छ।
गत मङ्सिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजयी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।
चितवन र बारामा मतगणनाको तयारी
यता, चितवन–२ मा १ बजेबाट मतगणना सुरू गर्ने सहमति भएको छ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेपछि विवाद भएको थियो।
सोमवार बसेको सर्वदलीय बैठकले आचारसंहिताबारेको उजुरी निर्वाचन आयोगमा पठाउने सहमति गरेको थियो ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन–२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ।
नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन भएको हो। पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका छन्।
बारा–२ मा पनि मतगणनाको तयारी भइरहेको छ। मतगणना सुरु गर्ने विषयमा छलफल गर्न सोमवार बोलाइएको सर्वदलीय बैठकमा मतगणना अघि बढाउने सहमति भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
उपनिर्वाचन भएका तीन वटै क्षेत्रको मतपरिणाम तीन दिनभित्र आइसक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताउँदै आएका छन्।
निर्वाचन अधिकृत उपाध्यायले बारामा ६५.०२ प्रतिशत मत खसेको बताएका छन्। गत मङ्सिरमा त्यहाँ ६३.५६ प्रतिशत मत खसेको थियो ।
उपाध्यायका अनुसार यहाँ ७८ हजारभन्दा बढी मत खसेको छ।
जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त हुन गएको थियो।