खिमराज चालिसे, चंडिगढ ।
भारतको पञ्जाब राज्यको डेराबसी मासु प्लान्टमा दुई नेपाली सहित चार जनाको ट्यांकर सफाई गर्ने क्रममा विषाक्त ग्यासका कारण मृत्यु भएको छ।
मृत्यु हुने नेपालीमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१८ मानपुरका टेकबहादुर पान्डेका छोरा २८ वर्षीय अर्जुन पान्डे र बाग्लुङ जिल्लाको जैमुनी नगरपालिका–८ निवासी भद्रबहादुर थापाको छोरा २८ वर्षीय जनक थापा रहेका छन् ।
उनीहरु सँगै ट्यांकरमा सफाइको लागि पसेका दुई जना भारतीय नागरिक स्थानीय २५ वर्षीय मानकसिंह र बिहार राज्यका ३५ वर्षीय कुरबानको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बताएका छन्।
घटनाबारे जानकारी भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य दिनेश खड्काको नेतृत्वमा स्थानिय कार्यकर्ताहरु काजीमान राई, गोविन्द भुसाल, दिलमाया लुईटेल, कुमार भुजेल लगाएतको टिम घटनास्थल र अस्पतालमा पुगी निरीक्षण गरेको छ।
चारै जनाको शवको आज पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम पछि २ भारतीय नागरिकको शव आफन्तले बुझिसकेको र दुई नेपालीहरुमध्ये दाङका अर्जुनको शव परिवारले नेपाल लगिसकेको भएपनि जनक थापाको शव भने परिवारका सदस्यहरु नेपालबाट नआउन्जेल शवगृहमा राखिने मूल प्रवाहका नेता काजीमान राईले बताउनु भएको छ ।