फरीदावाद । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रवासी नेपालीको मताधिकारका लागि आफ्नो पार्टी संघर्षशील रहेको बताउनुभएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर–मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको संयुक्त १०औं सम्मेलनको शनिबार उद्घाटन गर्दै महासचिव भट्टले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिमा प्रवासीको समानुपातिक प्रतिनिधित्व तथा सामाजिक सुरक्षाका लागि आफ्नो पार्टी दृढ रहेको बताउनुभयो ।
महासचिव भट्टले भन्नुभयो, ‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वको एवं भारतमा हामी नेपालीहरूले पाउनु पर्ने हकहित र सामाजिक सुरक्षाको लागि संघर्षलाई पनि जोड दिँदै आएका छौँ ।’
भट्टले राष्ट्रिय जनमोर्चा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षाको लागि संघर्ष गरिरहेको बताउनुभयो । उहाँले राष्ट्रघाति, प्रतिगामी, महत्वकांक्षी, अवसरवादी, दक्षिणपन्थी लगायत सबै प्रकारका खराब विचारविरूद्ध संर्घष गर्दै आमुल परिवर्तनको लागि राजमो अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।
नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादी गतिविधिलाई परास्त गर्नुपर्ने आवश्यकतामा भट्टले जोड दिनुभयो । उहाँले कथित स्वतन्त्र पार्टी अमेरिकी डिजाइनअनुसार बनेको दोहोर्याउनुभयो ।
भट्टले भन्नुभयो, ‘हामीले संविधान र कानुनका आधारमा नै चितवन क्षेत्र नम्बर २ का कथित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छौँ । तर त्योभन्दा महत्वपूर्ण कुरा राजनीतिक पक्ष हो । त्यो राजनीतिक पक्ष के हो भने कथित स्वतन्त्र पार्टी नेपालमा अमेरिकाको साम्राज्यवादी स्वार्थ पूरा गर्न बनेको राजनीतिक सङ्गठन हो ।’
भट्टले अगाडि भन्नुभयो, ‘नेपालमा कथित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसित सम्बन्धित राजनीतिक पक्षहरूबारे कतिपय राजनीतिक पार्टी, सञ्चार माध्यम वा कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन् र यसका विरुद्ध प्रभावशाली वा सफल कदम पनि उठाएका छन् । त्यसका लागि त्यो संगठनको साम्राज्यवादपरस्त चरित्रबारे कसैले कुनै विरोधको स्वर उठाएको पाइँदैन, त्यसबारे खालि नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले मात्र अग्रिम पंक्तिमा आएर संघर्ष गरिरहेका छन् ।’
त्यस्तो हुन नदिन राष्ट्रिय जनमोर्चाले नेपालमा विभिन्न रूपमा बढ्दै गएको खतराप्रति गम्भीर ध्यान दिनका लागि सम्पूर्ण जनतासित अपिल गर्दै आएको भट्टको भनाई थियो ।
चितवनमा अहिले हुन थालिरहेको उपचुनाव अमेरिकी साम्राज्यवाद विरुद्धको त्यही संर्षको अङ्ग भएकोले त्यो चुनाव चितवनको एउटा क्षेत्रको मात्र चुनाव भए पनि त्यसले राष्ट्रिय र दीर्घकालीन महत्व राखेको नेता भट्टले बताउनु भयो । उहाँले रवि लामिछानेले चुनाव जिते पनि पुनः चुनाव हुने दाहोर्याउनुभयो । रविविरुद्ध हाल दुईवटा राहदानी उपयोग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।
उद्घाट समारोहलाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले भारतभरि छरिएर रहेका नेपालीहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले केवल सामाजिक क्षेत्रमा मात्र नभई श्रमजिवी नेपालीहरुको चेतनास्तर अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
समारोहलाई रक्तिम साँस्कृतिक अभियानकी केन्द्रीय सदस्य उषा थापा, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, अखिल नेपाल जनजाति सम्मेलन भारत शाखाका पूर्वउपाध्यक्ष किसन रानाले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय समितिका मोहन गिरी, विनबहादुर कुँवर, शिव केसी, सालिकराम आचार्य, ध्रुव शाह, बाबुराम विष्ट, बाबुराम बस्नेत, तिलक पौडेल, कृष्टि राई, रमेश चन्द, रिम राना, साँस्कृतिक विभागका पहलसिंह परियार, जनजाति विभागका ओम थापा, महिला विभागकी माया विसी, समता विभागका रेशम विक लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बेलबहादुर रजालीले, अध्यक्षता विक्रम सिंह राणाले र स्वागत नारायण ज्ञावलीले गर्नुभएको थियो । रक्तिमका कलाकारहरुले सांगितिक कोशेलीद्वारा स्वागत गरेका थिए । सम्मेलन दुई दिनसम्म चल्ने छ ।