दोधारा चाँदनी । बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो । महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई पनि राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो । बाघ नियन्त्रणमा लिएकै स्थानमा महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको छ, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले भन्नुभयो, बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको छ ।
चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्याइएको जानकारी दिनुभयो ।
आवश्यक प्रक्रिया पूरा गर्नाका साथै केही समय बाघलाई निगरानीमै राख्छौँ, उहाँले भन्नुभयो, पछि माथि विभागको निर्देशनअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ । केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन् ।