काठमाडौं । नेपाल राष्ट्र बैंकले चार विकास बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो।
यी चार वटै विकास बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा धेरै हुँदा कारबाही गरेको हो।
राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार र सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ।
राष्ट्र बैंकले चालु आवको दोस्रो त्रैमासमा सीडी रेसियो सीमाभन्दा माथि हुँदा यी बैंकलाई कारबाही गरेको जनाएको छ। यसअघि पनि यी बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो।
२०७९/०८० असोज मसान्तमा कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले १७ लाख ९३ हजार जरिवाना गरेको थियो। त्यसैगरी सोही अवधिमा सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार, नारायणी डेभलपमेन्टलाई ५ लाख ८ हजार र सप्तकोशी डेभलपमेन्टलाई ३० लाख ५९ हजार जरिवाना गरेको थियो।
जानकी र नेपाल फाइनान्स कारबाहीमा
राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सिमा भन्दा माथि पुगेको भन्दै जानकी फाइनान्स र नेपाल फाइनान्सलाई कारबाही गरेको हो।
२०७९ असोजमा नेपाल फाइनान्सको सीडी सीमा भन्दा माथि पुगेका हुँदा १ लाख ४९ हजार र जानकी फाइनान्सलाई ८० हजार ९८५ रुपैयाँ जरिवाना गरेको हो।