काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ ।
सोमवार संसद भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहितको बैठकले अबको एक, दुई दिन भित्र नै विषयगत समितिहरुको टुंगो लगाउने सहमति भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचिको विषयमा छलफल गरेको बताउनु भयो ।
उहाँले नयाँ संसदपछि हालसम्म २० वटा बैठक बसिसकेपनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताउनु भयो । उहाँले सबै दलहरुलाई मंगलवार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको पनि बताउनु भयो ।
उहाँले नेकपा एमालेले पनि मंगलवार बेलुकासम्म समितिका लागि सदस्यहरुको नाम पठाउने स्पष्ट पार्नुभयो । उहाँले संयुक्त संसदीय समितिका लागि पनि छलफल भएको बताउनु भयो ।
सचेतक बर्तौलाले संसदीय सुनुवाई समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताउनु भयो ।