नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीले जनआन्दोलन दिवस मनाएको छ । शुक्रबार सुनवल नगरपालिका– १० गैडाखाल चोकमा ‘प्रतिगमन विरुद्ध संघर्ष गरौँ, गणतन्त्रको रक्षा गरौं ’ मूल नाराका साथ जनआन्दोलन दिवस मनाएको हो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले गणतन्त्रवादी सत्तासीन दल र तिनका नेतृत्वको कारणले गणतन्त्रलाई बदनाम गर्ने तथा जनतामा गणतान्त्रिक सरकार प्रति वितृष्णा जागेको कारण दिन प्रतिदिन प्रतिगमनकारीहरूले मुन्टो उठाउने मौका बताउनु भयो ।
उहाँले कुनै पनि प्रकारको निरङ्कुशता भन्दा यो व्यवस्था प्रगतिशील हो तर यसका सञ्चालक नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भएर जनताका समस्या प्रति व्यवास्था गरेर नै यो अवस्था निम्त्याएको आरो लगाउनु भयो ।
नेता सुवेदीले नेपाली जनताले गल्ति गर्ने वा नेतालाई मतदानबाट सजाय दिने र राम्रो गर्ने दल र त्यसका उम्मेदवारलाई अवसर दिएर गणतन्त्रको र आज सम्म प्राप्त उपलब्धिलाई जोगाउनु पर्ने बताउनु भयो ।
त्यस्तै, रक्तिम सांस्कृतिक अभियानका पूर्व केन्द्रीय अध्यक्ष तथा राजमो नवलपरासी जिल्ला सल्लाहकार रेम राना, नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष जीतबहादुर पौडेल, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सम्झना सुवेदी र अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष शेरबहादुर सूर्यवंशीले पनि सम्बोधन गर्नुभएको थियो ।
राजमो जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मेघराज गौतमले गर्नुभएको थियो भने स्वागत जिल्ला सल्लाहकार तिलबहादुर थापाले गर्नुभएको थियो।
कार्यक्रमको बिच बिचमा रक्तिम सास्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए।