जनकपुरधाम । नेकपा (एमाले) मधेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी एमाले मन्त्रीहरुले सोमबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।
मधेश सरकारमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय थिए।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री यादवसँगै गत पुस २९ गते शपथ लिएका थिए भने अन्य मन्त्रीहरु माघ २० गते सरकारमा सहभागी भएका थिए। गत पुस २९ गते सरकारमा सहभागी भएको एमालेले ३ महिना नपुग्दै सरकारबाट बाहिरिनु परेको हो ।
बारा २ को उपनिर्वाचन मार्फत प्रतिनिधिसभा प्रवेशको बाटो खोजेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई साथ नदिएपछि एमाले सरकारबाट बाहिरिनु परेको बताइएको छ । निर्वाचनमा एमालेको पनि साथ पाउने उद्देश्यले यादवले मधेश सरकारबाट एमालेका मन्त्रीहरुलाई नहटाउन निर्देशन दिएका थिए ।
तर, बारा २ मा एमालेले पुरुषोत्तम पौडेलको उम्मेदवारी दर्ता गराएपछि यादवकै इशारामा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार राति राजीनामा बुझाउन निर्देशन दिएको स्रोतको दाबी छ।