बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम निवासी राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकर्ता चन्द्रबहादुर थापाको निधन भएको छ।
राजमो ५ नं. टोल समितिका सदस्य मन बहादुर थापाका बुवा चन्द्रबहादुरको चैत १८ गते ७२ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि बिरामी रहनुभएका थापाको उपचारकै क्रममा फेवासिटी अस्पताल पोखरामा निधन भएको परिवारका सदस्यले बताएका छन् ।
राजमोका इमान्दार कार्यकर्ता एवम् सक्रिय कार्यकर्ता थापा पछिल्लो समय मुटु सम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
थापाको आज अन्त्येष्टि गरिएको छ । डुडियाँस्थित स्थानीय घाटमा भएको अन्त्येष्टिका क्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सदस्य तिलक थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।
पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, आफन्तजन एवम् स्थानीयको उपस्थितिमा भएको श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सचिवालय सदस्य लक्ष्मण पुनले गर्नुभएको थियो ।
मृतक थापालाई अन्तिम श्रद्धाञ्जली दिन राजमो जिल्ला सदस्य टिकासंगम विक, जनजाति सम्मेलनका जिल्ला उपाध्यक्ष ओम बहादुर पुन, जातीय समता समाजका जिल्ला सदस्य भीम विक लगायत पालिका तथा वडा स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२००७ साल जेठ १ गते बुवा तुल बहादुर थापा र आमा रत्निकला थापाको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्मनुभएका थापाको एक छोरा र एक छोरी रहेका छन् ।