महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले संघीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधबार शुक्लाफाँटा नगरवालिका–१२ कालागौडी बजारमा राजमोले प्रदर्शन गरेको हो ।
विरोध सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष रामबहादुर कार्कीले संघीयताविरुद्ध अब निर्णायक आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राजमोले संघीयतासँगै महंगी, भ्रष्टाचार, बेरोजगारीलगायत जनसरोकारका मुद्दालाई लिएर राजमोले देशब्यापी संघर्ष गरिरहेको जानकारी दिनुभयो ।
जिल्ला सचिव लालबहादुर कुँवरको सञ्चालनमा अघि बढेको कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष टुङ्गे बोहराले गर्नु भएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहाकार एवम् रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष मन्जु परियार, प्रदेश सचिव राजाराम चौधरी लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा तथा संघीयता खारेजीका लागि देशब्यापी संघर्षका कार्यक्रम गरिरहेको छ ।