नयाँदिल्ली । भारतमा काङ्ग्रेस (आई) का नेता राहुल गान्धीको लोकसभाको सांसद पद खारेज भएको छ ।
चार वर्ष पुरानो मानहानी मुद्दामा दुई वर्षको सजाय पाएकै भोलिपल्ट मार्च २४, २०२३ शुक्रबार लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।
हिजो मार्च २३ बिहीबारका दिन सुरतको एक अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दुई वर्षको सजाय सुनाएको थियो भने १५ हजार भारु जरिवाना तोकेको थियो तर उनको सजाय ३० दिनका लागि स्थगित गरिएको थियो अर्थात् राहुलसँग अदालतले सुनाएको सजाय विरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने समय एक महिना हुने छ ।
सन् २०१९ मा राहुलले मोदी थरबारे टिप्पणी गरेका थिए । उनले निरव मोदी, ललित मोदी र अरूको नाम लिँदै भनेका थिए– ’कसरी सबै चोरको थर मोदी भयो ?’
गान्धी केरलाको वाइनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम–१९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ ।
भारतीय संविधानको धारा १०२ (१) र १९१ (१) मा यदि संसद् वा विधानसभाको कुनै सदस्य लाभको पदमा पुगे, मानसिक रूपमा अस्वस्थ भए वा वैध भारतीय नागरिक रहेनन् भने उसको सदस्यता रद्द हुन्छ । अयोग्यताको अर्को नियम संविधानको दसौं अनुसूचीमा छ, जसमा दलबदलका आधारमा सदस्यलाई अयोग्य ठहर गर्ने व्यवस्थामा छ ।
यसका साथै लोकसभा प्रतिनिधित्व अधिनियम–१९५१ मा आपराधिक मामिलामा सजाय पाएका सांसद वा विधायकको सदस्यता रद्द गर्ने व्यवस्था छ । (एजेन्सी)