काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले घनश्याम भुसाललाई महासचिव बनाएको छ । आइतवार बसेको एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवको जिम्मेवारीमा लैजाने निर्णय गरेको हो।
तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल खेमाका नेता भुसाल मंसिर ४ को निर्वाचनअघि एमाले छाडेर केही समयअघि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।
यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
एमाले त्यागेर गत मंसिर ४ अघि स्वतन्त्र भएका भुसाल रुपन्देही क्षेत्र नम्बर १ मा चुनावमा लडेपनि कांग्रेस र माओवादी केन्द्रको साथ पाउँदासमेत विजयी हुन सक्नुभएको थिएन।
नेकपा एमालेमा रहँदा माधव नेपाल समूहका भुसाल २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार हुनुहुन्छ ।