काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता गौरीलाल कार्कीले आमाको काज क्रिया नगरेर समाजमा उदाहरण प्रस्तुत गर्नुभएको छ । राजमो बाँकेका पूर्व अध्यक्ष कार्कीकी आमा धनकला कार्कीको यही माघ २६ गते कोहलपुर नगरपालिमा–१० कालिका नगरस्थित आफ्नै घरमा निधन भएको थियो ।
आमाको निधनपछि अरु दाजुभाई काजक्रियामा बसेपनि नेता कार्कीले रुढीवादी परम्परा अनुसारका संस्कारलाई स्वीकार गर्नुभएको छैन । उहाँका अन्य चार दाजुभाई कपाल खौरेर आशौच बारेका छन् । तर नेता कार्कीले कपाल खौरनुभएको छैन भने परम्परागत काजक्रियामा पनि बस्नुभएको छैन ।
नेता कार्कीको परिवार पुरै राजमो समर्थक परिवार हो । परिवार पुरै प्रगतिशील विचार राख्ने भएकाले समाजले जे सुकै भनेपनि आफ्नो विचारमा अगाडि बढ्न सहज भएको कार्कीले बताउनुभयो । ‘आमा धनकला पनि राजमो समर्थक नै हुनुहुन्थ्यो । वुवा पनि पार्टी समर्थक हुनुहुन्छ ।’ कार्कीले भन्नुभयो, ‘मैले पहिल्यैदेखि उहाँहरुलाई किन काजक्रिया आवश्यक छैन भन्ने बारे पहिलेदेखि नै भन्दै आएको थिएँ । यो विषयमा बुवा र परिवारको पनि मलाई साथ छ ।’
नेता कार्कीले विगतमा एकजना भाईको दुर्घटनामा मृत्यु हुँदा आफूले काजक्रिया नगर्न आग्रह गर्दा समाजका ठुला भनिनेहरुले आफूलाई सामाजिक बहिष्कार गर्नुपर्छ भनेको स्मरण गर्दै कार्कीले भन्नुभयो, ‘त्यतिबेला मलाई आमाको साथ रह्यो । आमा भन्नुहुन्थ्यो, जे गर्नुछ छोराले ज्यूँदो छँदा नै बाउआमाको सेवा गर्ने हो, मरेपछि पिण्ड चढाएर कसले पायौँ भन्न आएको छर र ?’
धनकला कार्कीको सोमबार अघैयास्थित राप्ती नदीमा दाह संस्कार गरिएको थियो । त्यसक्रममा रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष मानबहादुर भण्डारीले उहाँको योगदानको चर्चा गर्नुभएको थियो । राजमोसहित विभिन्न पार्टीका नेता कार्यकर्ता उपस्थित श्रद्धाञ्जली कार्यक्रममा राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले उहाँको पार्थिव शरीरमा राजमोको झण्डा ओढाउनुभएको थियो ।
नेता गौरीलाल कार्कीले समाजमा आफ्नो अगाडि कसैले केही नभनेपनि काजक्रिया नगरेकोमा भित्रभित्रै विरोध भइरहेको बताउनुभयो । तर, परिवारका सदस्यको दह्रो साथका कारण आफ्नो विचारमा दृढ रहन उहाँलाई सहज भएको छ । उहाँकी पत्नी कमला खड्का राजमो बाँकेकी नेत्री हुनुहुन्छ । उहाँहरुको २०६० सालमा प्रगतिशील विवाह भएको थियो ।