पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा पोखराको पृथ्वीनारायण क्याम्पसमा तालाबन्दी गरिएको छ ।
क्याम्पस प्रशासनले स्ववियु चुनाव प्रभावित गर्ने गतिविधि गरेको भन्दै अखिल (छैठौं) सहित चार विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
स्ववियु निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम टुंगो नलाग्दै क्याम्पस प्रशासन र निर्वाचन समितिको मिलेमतोमा चुनाव प्रभावित पार्न अमुक संगठनलाई फाइदा पुग्ने गरी विद्यार्थीहरुको नामावली चुहावट गरेको ती संगठनको आरोप छ ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा फागुन १८ र १९ गते क्याम्पसमा दर्ता भएका संघ, संगठन र समूहको नाम जस्ताको तस्तै पुनः प्रकाशित गर्न तथा नेपाल सरकारको तलब भत्ता खाने सरकारी कर्मचारी र प्राध्यापकले स्ववियुमा मतदान गर्न नपाउने व्यवस्था गर्न माग गरिएको छ ।
तालाबन्दीपछि अखिल (क्रान्तिकारी)का अध्यक्ष काशिराम पौडेल, अखिल (क्रान्तिकारी) विप्लवका अध्यक्ष सचिन पौडेल, अखिल (छैठौं) का अध्यक्ष विवेक अधिकारी र अखिल (क्रान्तिकारी) संयुक्तका अध्यक्ष गगन परियारद्वारा जारी विज्ञप्तिमा माग पूरा नगरी ताला खोल्ने दुस्साहस गरेमा त्यसको जिम्मेवारी क्याम्पस प्रशासन र निर्वाचन समितिले लिनुपर्ने चेतावनी दिइएको छ ।