दुर्गानाथ खरेल ##
मैले त्यो किताब पढेर तीनओटा कुरा बुझेँ । सबैभन्दा पहिलो कुरा उहाँ आफै भूमिगत पार्टीको केन्द्रीय समितिमा रहेको व्यक्ति हो । कम्युनिस्ट पार्टीले तत्कालीन अवस्थाको नियम, कानुन, संविधान र व्यवस्थालाई स्वीकार नगर्ने र समाजमा आमूल परिवर्तनको उद्देश्य राख्ने गर्छ । त्यसो गर्दा वर्तमान शासकले कम्युनिस्ट कार्यकर्तालाई खोजी खोजी कारबाही गर्न चाहन्छन् । त्यो यसकारणले गर्दछन् कि जनताले आफ्नो मुक्तिको अवस्था थाह पाएर सङ्गठित आन्दोलन सञ्चालन गरेको अवस्थामा उनीहरूको “स्वर्ग” गुम्छ† आमूल परिवर्तन हुन्छ† जनता स्वयम् शासक बन्छन् र मुट्ठिभर शासकलाई कारबाही गर्छन् ।
कम्युनिस्ट पार्टी र त्यो पार्टीका कार्यकर्ता यसकारणले महान् हुन कि उनीहरूले दुईओटा महत्त्वपूर्ण काम गर्नुपर्छ : पहिलो– जनताको राजनैतिक चेतनास्तर उच्च बनाउनुपर्छ । दोस्रो– जनताको नैतिक चेतानास्तर उच्च बनाउनुपर्छ ।
जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन धेरै समय लाग्छ । त्यतिन्जेल उनीहरूले शक्तिशाली शत्रुको सामना गर्नुपर्छ । त्यसकारण पार्टीलाई मिलिट्यान्ट अनुशासित र भूमिगत राख्नुपर्छ । यति कुरा थाह नपाइकन उहाँ कम्युनिस्ट पार्टीको केन्द्रमा अवश्य पुग्नुभएन होला । सामन्तको नाइके राजा महेन्द्रसमेतले “म मरे पनि मेरो देश बाँचिरहोस्” भन्ने गर्दथ्यो भने उहाँले ‘म मरे पनि मेरो पार्टी बाँचिरहोस्’ भन्नुपर्ने ठाउँमा “म मरे डुमै राजा” भन्ने नेपाली भनाइलाई व्यवहारमा उतार्नुभएको वास्तविकता महसुस भयो । उहाँलाई अब कुनै कुरा भूमिगत राख्नुपर्ने आवश्यकता बाँकी रहेन । उहाँले जीवनका धेरै वशन्त पार गरिसक्नुभएको छ । अब उहाँलाई आफ्नो जीवनमा भूमिगत सङ्गठन बनाउने आवश्यकता परेन ।
भूमिगत सङ्गठन जोगाउन कति धेरै आवश्यक हुन्छ र कति धेरै महत्त्व हुन्छ भन्ने सामान्य ज्ञान “आमा” उपन्यासबाट पनि लिन सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू जेल परेको अवस्थामा उनीहरूको पार्टी सदस्यता समाप्त गर्ने काम प्रतिकृयावादी राज्यसत्ताले साम, दाम, दण्ड, यातना सबै उपाय प्रयोग गरेर भूमिगत वास्तविकता प्रकट गराउँछ भनेर नै त्यस्तो गर्नुपरेको हो । माओत्सेतुङले “सयौँ फूलहरूलाई फुल्न देऊ” भन्दा “विषालु झारपात उखेलेर हटाउन नभुल” भन्ने भन्ने भनाइ पनि जोडेका थिए । त्यसकारण कम्युनिस्टले भूमिगत शैली समाप्त पार्नेलाई पहिला नम्बरको विषालु झारपात सम्झनुपर्छ भन्ने कुरा उहाँलाई थाह नभएर होइन । अबदेखि भूमिगत शैली आफूलाई नचाहिने भएरै सबै भताभुङ्ग पार्नुभएको हो भन्ने बुझ्न अप्ठेरो पर्दैन । उहाँको जीवनमा भूमिगत तरिकाको आवश्यकता नपरे पनि कम्युनिस्टलाई आवश्यक पर्छ भन्नेसम्म अलिकति विचार गर्नुभएको भए राम्रो हुने थियो । त्यस्तो नगरेको हुनाले उहाँलाई कसैले त्यहाँ गएर त्यहाँ भएगरेका सबै कुरा बाहिर ल्याउन गरेको निर्देशन इमानदारिपूर्वक पूरा गरेको जस्तो लाग्यो ।
दोस्रो कुरा, नेपालका सबै अन्य पार्टीभन्दा व्यवस्थापन र सञ्चालनको पक्षमा सबैभन्दा उच्चस्तरको पार्टी नेकपा (मसाल) नै हो भन्ने कुरा पुष्टि गर्नुभयो । यो राम्रो पक्ष हो ।
पार्टीमा प्रस्तावको पक्षमा विपक्षमा र निर्णय गर्ने बेलामा स्पष्ट गरेर नेतृत्वको स्थान सबैभन्दा उच्च रहेको उजागर गरिदिनुभयो । नेपालका पार्टीमा सिद्धान्त पहिलो, राजनीतिक लाइन दोस्रो र सङ्गठन तेस्रो महŒवका साथ पार्टी सञ्चालन हुने गरेको र भएको पार्टी मसाल मात्र रहेछ भन्ने कुरा सबैले राम्ररी थाह पाउने भए । त्यति मात्र होइन, अरू पार्टीहरू खुला वा भूमिगत जस्तो अवस्थामा भएको भए पनि मसालजत्तिको राजनीतिक पार्टी नभएको यी वा ऊ रूपमा जनताबिच जाने अवसरवादी तरिका भएका पार्टीहरू मात्र छन् । उनीहरू पार्टी सञ्चालनको तरिका जनवादी केन्द्रीयतामाथि आधारित छैन, बुर्जुवा तरिकाले पार्टी सञ्चालन भइरहेका छन् भन्ने कुरालाई यो पुस्ताको प्रस्तुतिले छर्लङ्ग पारेको छ ।
महाधिवेशनको बेलामा अल्पमत र बहुमतको दस्तावेज र प्रतिनिधिसमेत योजनाबद्ध तरिकाले कार्यकर्ताबिच पुग्ने अभ्यास अरू पार्टीको भन्दा उच्चस्तरको भएकोसमेत यो पुस्तकबाट थाह पाउन सकिन्छ । वर्तमान अवस्थाका कम्युनिस्ट पार्टीमध्ये सबैभन्दा धेरै जनसम्बन्ध भएको पार्टी नेकपा (मसाल) मात्रै हो । लामो समयसम्मका आन्दोलनमा खारिएको सक्षम नेतृत्व भएको हुनाले मात्र त्यो सम्भव भएको हो । त्यसको साथसाथै विभिन्न किसिमका अवसरवादीले नेतृत्व कब्जा गर्न गरेको प्रयत्नलाई समेत विफल पार्न सक्ने अनुभवी नेतृत्व कायम भएकाले अस्तित्वको रक्षा भएको हो । यो अन्तरसङ्घर्षको किताबले पनि जानकारी गराएको छ ।
अन्य पार्टीमा कि सिद्धान्त सही छैन । सिद्धान्तका सही र राम्रो कुरा गर्नेको राजनीतिक लाइन ठिक छैन । रणनीति र कार्यनीतिबिच सही तरिकाको तालमेल छैन ।
रणनीतिलाई कार्यनीति जस्तो बनाउँदा क्रान्तिकारी लफ्फाजीभन्दा बढी काम हुन सकेको छैन । जनताको राजनीतिक चेतनास्तर उच्च बनाउने प्रयत्न गर्नुको सट्टा पिछडिएको राजनीतिक चेतनास्तरबाट फाइदा उठाउने प्रयत्न गर्दा आफ्नो राजनीतिक अस्तित्व गुमाइसकेको एकातिरको अवस्था छ भन्ने अर्कोतिर, उग्र क्रान्तिकारी कारबाही गर्दा संसार शून्य भएर जे जसरी भए पनि सम्झौता गरेर संशोधनवादीको स्थान सुरक्षित गर्न आत्तिएका छन् ।
तेस्रो र महत्त्वपूर्ण पक्ष उहाँको र उहाँलाई समर्थन गर्ने अरू अल्पमत पक्षको अब अगाडिको गन्तव्य हराएको छ । उहाँहरूसँग भूमिगत कम्युनिस्ट पार्टी बनाउने योजना भएको भए यति धेरै छरपस्ट हुने गरी भूमिगत पार्टीको पर्दाफास गर्ने अनैतिक काम अवश्य पनि गर्नु हुने थिएन ।
यो किताब प्रकाशनको अर्थ हेर्दा अब उहाँहरूको लागि भूमिगत कम्युनिस्ट पार्टीको औचित्य समाप्त भएको छ । ५० वर्षभन्दा बढी समयसम्म भूमिगत अवस्थामा सञ्चालन गर्दै गर्दा भएको साङ्गठनिक गतिविधि, साङ्गठनिक अवस्था र भूमिगत संरचना नचाहिएको बुझ्न अप्ठेरो पर्दैन । अर्कोतिर, भूमिगत संरचना सञ्चालन गर्ने, योग्यता र क्षमतासमेत उहाँहरूमा नभएको हुनाले नै त्यो नैतिकताभन्दा बहिर गएर गर्नु भएको हो । क्षमता भएको भए भूमिगत शैली कायम राखेर पनि पार्टी विभाजन गर्न सक्नुपर्दथ्यो । त्यो भन्दा अझ मुख्य विषय भूमिगत अवस्थाको कम्युनिस्ट पार्टीमा विधानसम्मत किसिमले आफ्ना सिद्धान्त राजनीतिक र सङ्गठनको अनुशासनभित्र रहेर मतभेद सञ्चालन गर्दै बहुमतमा स्तरोन्नति हुन सक्नुहुन्थ्यो । त्यससितको बाटो चक्रक्कै छाडेर उदाङ्गो बन्ने बनाउने काम गर्दा उहाँको असक्षमता प्रकट भयो । न पार्टीभित्र बसेर काम गर्न सक्ने, न भूमिगत संरचना निर्माण गर्न सक्ने भएपछि अब गन्तव्य अरू पार्टीमा गएर क्रान्तिकारी आडम्बर प्रदर्शन गर्न आफूले गर्ने तल्लोस्तरका आफूहरूलाई समर्थन गर्ने कार्यकर्तालाई एमाले, माओवादी आदि संशोधनवादी पार्टीमा जान प्रोत्साहित गर्ने पूर्वतयारी भए जस्तो लाग्यो । उहाँहरूको चाहना जतिसुकै सुन्दर भए पनि परिणामले त्यही पुष्टि गर्ने छ । न आफूले निर्माण गर्न सक्ने न अरूले निर्माण गरेको संरचना स्वीकार गर्नेको नतिजा अस्तित्व मेटाउने नै हुने छ ।
नेकपा (मसाल) को आफ्नो इतिहासमा पार्टी छोडेर जाने नेताहरूको लामो फेहरिस्त छ । छाड्नेहरू सबैले पार्टी फुटाएको र आफूसँग धेरै कार्यकर्ता र जनता समेटिएको नाटक गर्ने गर्दथे तर पनि उनीहरूले भूमिगत पार्टीलाई प्रतिक्रियावादीबिच यति जातिबित्ति उदाङ्गो पार्ने काम गरेका थिएनन् । आफूहरू केही जनाको पार्टी घोषणा गर्दथे र पार्टीएकता गरेको नाटक गरेर संशोधनवादी पार्टीमा विलय हुन्थे तर यतिखेर जस्तो भूमिगत संरचनाको फेहरिस्त उदाङ्गो हुने गरी बुर्जुवालाई अवैतनिक सेवा पुराएको पहिलोपटक हो जस्तो लाग्छ । त्यस्तो हुनुको एउटा कारण छ । त्यो कारण हो– आफूहरूलाई संशोधनवादीले नेता स्वीकार नगर्ने अवस्था ।
पहिले पहिलेका पार्टी छाड्नेहरूले पार्टीको लोकप्रियतालाई आफ्नो सक्षमतासँग जोड्ने गर्दथे र संशोधनवादी पार्टीले पत्याउने गरी प्रस्तुत हुन्थे । तिनीहरूको तर्फबाट धेरै जनता आफ्नो पार्टीको मातहतमा आउने आशा र विश्वास गर्दथे र त्यो सही हुन सक्दथ्यो पनि । जनताले मसालमाथि राखेको आशा र विश्वासलाई भगौडाले भजाउने गर्दथे तर अहिलेको राजनैतिक अवस्था त्यस्तो रहेन बरु उल्टो के भयो भने अरू पार्टीमा पनि आआफ्नो नेतृत्व स्थापित गरिसकेको अवस्था भएको एकातिर, नेतृत्वमा दाबा गर्ने सिपालु योग्यता मसालका कार्यकर्तामा भएको अर्कोतिर भयो । यी दुवै कारणले जनता धेरैको वा थोरैको स्पष्ट लेखाजोखा गरेर मात्र आफ्नो पार्टीमा भित्राउने अवस्था भयो । त्यसो गर्दा पार्टी छोडेर जानेहरूको साथमा जनता पछि नलाग्ने अवस्था आयो । त्यही कारण हो कि पार्टीको जतिसुकै भण्डाफोर गरेर पनि अवसरवादीको नेतृत्वले स्वीकार नगर्ने भएकाले आफू नेता हुन नपाएको झोँकमा कम्युनिस्ट पार्टीलाई समाप्त पारिदिने क्रान्तिकारी तरिकाको प्रदर्शन हुन गयो ।
“अन्तर्सङ्घर्ष” सम्बन्धी बुढाको किताबमा वर्णन गरिएको अल्पमतका साथीहरूको पेसा अलमलमा पर्यो । भूमिगत कालमा जनताले राजनीतिक कार्यकर्तालाई सम्मान गर्दथे र आफू ठुलो मान्छे भएको अभिनय उपयोगी हुन्थ्यो । अब अहिले अवसरवादी राजनीतिका कारण सरकारी पार्टीले सरकारमा गएर राज्यकोषको चरम दुरूपयोग गरेर आफ्ना कार्यकर्तालाई पोस्ने काममा तीव्रता दिएका कारण राजनीति कमाइखाने भाँडो भयो । मजदुरको पार्टी भन्ने जनताको बिचमा गएर मजदुरी नगर्ने क्रान्तिकारिताको फेसन भयो ।
जनताका बिचमा गएर क्रान्तिकारीले काम गर्ने भनेको भाषण सुनाउने, पत्रिका, किताब वितरण गरेर पढाउने, जनता कार्यकर्ता जम्मा गरेर प्रशिक्षण गर्ने, सांस्कृतिक कार्यक्रम जनताका बिचमा प्रदर्शन गर्ने चारओटै कामलाई एक्लै गर्न सक्ने अवस्था भएन, सङ्गठन चाहिने भयो । सङ्गठन परिचालन गर्न आर्थिक अभावका कारणले अप्ठेरो पर्ने हुँदा नेता आफै बेरोजगार हुने अवस्था सृजना भयो । शारीरिक काम गर्न नेता जस्तो मान्छेलाई धौ हुने, बौद्धिक कामको बजार अवसरवादीले कब्जा गर्ने, पेसावाला, पुँजीवाला बौद्धिक व्यवसायीसँग प्रतिस्पर्धा गर्न उच्च बौद्धिक क्षमताको आवश्यकता पर्ने, त्यो सजिलै आर्जन नहुने—त्यसकारण यो छटपटी पनि हो । यो अत्यन्त पिछडिएको समाजमा सम्मानपूर्वक खर्च टार्ने गरी पूर्णकालीन कार्यकर्ताबाट पार्टीले विस्थापन गरेर भएको छटपटी हो । यो नेता हुन नपाएको छटपटी पनि हो ।
मजदुरको नेता मजदुरबाहेक अरू हुन सक्दैन । मजदुरको अभ्यास गर्न नसकेको छटपटी पनि हो । बजारमा महङ्गी र बेरोजगारी बढेको हुनाले खर्च टार्न आफै नेता भएपछि सजिलो हुने अनुमानले गरेका असफल प्रयत्नको नतिजा भएको मैले बुझेँ ।
जहाँसम्म राजनीतिको कुरा छ, त्यो त शान्तिपूर्ण आन्दोलन उठाउने वर्तमान राजनीतिक अवस्था हो भन्ने विश्लेषण त त्यही नै छ । सङ्गठन नभई आन्दोलन हुन्न । सङ्गठन गर्न धौ हुने, भत्काउन सजिलो हुने भएपछि अबको गन्तव्य अलमलमा पारेर अवसरको खोजी गर्न लागेको अभ्यास मात्रै हो । ५० वर्षभन्दा लामो इतिहास बोकेको पार्टी सजिलै भत्किएको पनि छैन, भत्किने गरी बनाइएको पनि छैन बरु छाडेर जानेहरूको अस्तित्व आफैले सङ्कटमा पारिएको अवस्था हो ।
कम्युनिस्टका लागि सङ्कट छ । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । त्यसैले यही अवस्थाबाट फाइदा उठाउन अवसरको खोजी गर्दै गर्दा आफ्नो अस्तित्व बचाउन नसक्ने अवस्था आउने छ । आफूले गर्दा हुन नसक्ने काम अरूलाई जिम्मा लगाउन खोज्दा परिपक्व नेतृत्व भएकाले अस्तित्व बचाउन सक्ने र अपरिपक्व तरिकाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा हारेर भाग्न गरेको र त्यो छट्पटीको स्वाभाविक नतिजा अवसरवादी हुनलाई क्रान्तिकारी नैतिकताको तिलाञ्जली दिने नै हुने छm भएको भण्डाफोर पनि त्यसैले हो ।