विराटनगर । प्रदेश १ अब ‘कोशी प्रदेश’ नामाकरण भएको छ । बिहीबार प्रदेश सभा बैठकमा दुई तिहाइ बढी मतका साथ ‘कोशी’को प्रस्ताव पारित भएको हो ।
कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ। मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित रहे।
नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी भने प्रस्तावको विपक्षमा थिए।
कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद तथा विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।