दुर्गानाथ खरेल ##
लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको सिद्धान्त र कार्यनीति, विशेषत: सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो । लेनिनले यिनै सिद्धान्तको आधारमा अक्टोबर क्रान्तिको नेतृत्व र समाजवादी सत्ता सञ्चालनको रूपरेखा तयार पारेका थिए ।
साम्राज्यवादी अवस्थामा हुने अन्तरविरोधहरूमध्ये पहिलो पुँजी र श्रमबिचको अन्तरविरोध हो । दोस्रो साम्राज्यवाद र उत्पीडित राष्ट्रबिचको अन्तरविरोध र तेस्रो साम्राज्यवादी राष्ट्र बिचको अन्तरविरोध हुन् । यिनै तीनओटा अन्तरविरोधको ख्याल गरेर क्रान्तिको अवस्था निश्चित गर्न सकिन्छ ।
रुसमा लेनिनवादको जन्म हुनुका कारणमध्ये रुस साम्राज्यवादको केन्द्र भएको र पश्चिमी साम्राज्यवादको विशाल जगेडा शक्ति बनेको थियो । त्यस्तै, त्यहाँ पुँजीवादी औपनिवेशिक र फौजी उत्पीडन अन्यन्त अमानवीय र बर्बर रूपमा देखा परेको थियो । ती दुवै कारणले गर्दा त्यहाँ वर्गसङ्घर्ष अत्यन्त तीव्र बनेको थियो । त्यसका अतिरिक्त क्रान्तिकारी स्थिति अरू परिपक्व बनेको थियो । त्यस्तो हुनुमा लेनिनले अनुशासित सङ्गठन बनाउने र ठोस अवस्थाको ठोस विश्लेषण गरेर सङ्गठन परिचालन गर्ने कामसमेत गरेका थिए ।
माक्र्सको पालामा सङ्गठन व्यवस्थित बनेको थिएन । पेरिस कम्युनमा भएको क्षतिलाई समेत ख्याल गरेर राजनीति खुला र सङ्गठन भूमिगत बनाएको हुनाले धेरै क्षति घटाउन सहयोग पुगेको थियो ।
बाह्य पक्ष सहयोगी हुने र आन्तरिक पक्ष मुख्य हुने विश्लेषणको आधारमा रुसमा त्यहाँका मजदुर र किसानबिच दरिलो एकता कायम गरेर आन्दोलन उठाउने गरेको अवस्था थियो । त्यसैले विजय हासिल भएको थियो ।
लेनिनले त्यतिखेर जोड दिएको कुरामध्ये दोस्रो अन्तर्राष्ट्रियका सैद्धान्तिक सूत्रलाई व्यवहार र सङ्घर्षद्वारा उनीहरूको अपरिपक्वतालाई सङ्घर्षको कसीमा जाच्ने गरी कार्यक्रम बनाइएको थियो । त्यतिखेरको समस्या पनि सिद्धान्तका ठुला ठुला कुरा गर्ने तर व्यवहार भने त्यसको विपरीत भई सिद्धान्त र व्यवहारबिच खाडल देखिएको थियो ।
त्यसकारण लेनिनको जोड सिद्धान्त र व्यवहारबिचको खाडल पुर्नेमा गएको थियो । जति धेरै कुरा गर्ने, त्यति धेरै काम पनि गर्ने/गराउनेमा लेनिनले जोडबल लगाउने गर्दथे ।
सिद्धान्त र व्यवहारमध्ये मुख्य विषय सिद्धान्त भए पनि सिद्धान्त मात्रैको कुनै अर्थ र औचित्य हुन्न भनेर लेनिनले क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित सर्वहारा वर्गको पार्टी निर्माण गर्ने कुरामा लेनिन सचेत र व्यावहारिक पनि थिए । सिद्धान्तलाई कामको आधारमा मूल्याङ्कन गर्नुपर्छ । द्वितीय अन्तर्राष्ट्रियका सदस्यहरू सिद्धान्तका ठुला ठुला कुरा मात्रै गर्ने भएकाले लेनिनले उनीहरूको सिद्धान्तलाई कामको आधारमा जाँचबुझ गर्ने वा गर्नुपर्ने कुरामा सचेत थिए ।
क्रान्तिकारी सङ्घर्षका लागि आम सर्वसाधारण जनतालाई प्रशिक्षित गरेर उनीहरूको राजनीतिक चेतनास्तर उच्च बनाउनुपर्ने हुन्छ । एकातिर, कार्यकर्ताहरू सचेत र सङ्गठित हुनुपर्ने अर्कातिर, तिनै कार्यकर्तालाई सक्रियतासाथ जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन खट्न/खटाउनुपर्ने दुवै कामको माझमा तालमेल नमिलाएसम्म क्रान्तिकारी आन्दोलन उठ्न नसक्ने र आन्दोलन सम्झौतामा गएर टुङ्गिँदा आमूल परवर्तनमा नोक्सान पर्ने हुन्छ । त्यसैले दोहोरो जिम्मा पूरा गर्नुपर्ने हुनाले सर्वहारा वर्गको पार्टीभित्र पनि आत्मआलोचनाको प्रणालीलाई विकसित गर्नुपर्ने कुरामा लेनिन सचेत थिए ।
सिद्धान्तको प्रश्न अत्यन्त महत्त्वपूर्ण प्रश्न हो । यसको उच्च महत्त्व छ किनभने लेनिनले क्रान्तिकरी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन उठ्न सक्दैन भनेका छन् । सिद्धान्त र व्यवहारमध्ये सिद्धान्त मुख्य हो । बिनासिद्धान्तको व्यवहार हुन सक्दैन । कसैले सिद्धान्तको अध्ययन नगरिकन व्यवहार गर्छ भने उसको व्यवहारले पिछडिएको सिद्धान्तको पक्षपोषण गरिरहेको हुन्छ । त्यसो भनेर सिद्धान्तको अध्ययन गरेर सही सिद्धान्तबारे जानकारी दिएपछि पुगिहाल्छ भन्न खोजिएको होइन ।
सिद्धान्तको अध्ययन व्यवहारमा प्रयोग गर्नका लागि, व्यवहारमा प्रयोग नगरिने अथवा गर्न नसकिने वा गर्नुनपर्ने सिद्धान्तको कुनै अर्थ र महत्त्व हुन्न । सिद्धान्तको अध्ययन व्यवहारमा प्रयोग गर्नकै लागि हो । सिद्धान्तको अध्ययन उच्च अनुशासित र सङ्गठित भई काम गर्नका लागि हो ।
हामी सामाजिक प्राणी भएको हुनाले समाजमा रहन्छौँ र व्यक्तिगत जिम्मेवारी पूरा गर्छाैँ । सङ्गठन उच्च महत्त्वको चिज हो । एक जनाले जतिसुकै उच्च प्रयत्न गरे पनि काम पूरा हुन सक्दैन । त्यसकारण सिद्धान्त पनि सङ्गठित शक्तिलाई उपयोग गरेर काम पूरा गर्नका लागि हो । सिद्धान्त अध्ययन गरेर सङ्गठित र अनुशासित हुनुको सट्टा स्वत:स्पूmर्त किसिमले काम गर्न लाग्ने हो भने त्यो कामले आमूल परिवर्तन हुन सक्दैन । यही कारण हो कि आज संसारमा हजारौँको सङ्ख्यामा सर्वहारा वर्गका व्यक्ति भएर पनि समाजवादी व्यवस्था लागु हुन सकेको छैन ।
आफू सङ्गठित हुने र सङ्गठनको बलमा आन्दोलन गर्ने गर्न लागेपछि मात्र क्रान्तिकारी काममा सहयोग पुग्दछ । स्वत:स्फूर्त किसिमले काम गर्दा शक्ति प्रदर्शन हुन सक्दैन । त्यसकारण शक्तिआर्जन र वर्गीय स्वार्थ पूरा गर्न स्वत:स्फूर्त आन्दोलनबाट होइन, सङ्गठित भई आन्दोलनबाट मात्र आमूल परिवर्तनमा योगदान पुर्याउन सकिन्छ ।
सर्वहारा वर्गले सुसङ्गत राजनीति र कार्यनीतिद्वारा नै आफ्नो क्रान्तिकारी आन्दोलन अगाडि बढाउन सक्दथ्यो । त्यस प्रकारको रणनीति र कार्यनीतिको विकास गर्ने काम लेनिनद्वारा सम्पन्न भयो ।
कम्युनिस्ट पार्टी वर्तमान व्यवस्थाको विरोधी पार्टी हो । कम्युनिस्ट पार्टीले वर्तमान संविधान र नियम, कानुनमा आमूल परिवर्तन गर्ने उद्देश्य राख्दछ । वर्तमान व्यवस्थाको विरोधी पार्टी भएकाले आफ्ना गतिविधि भूमिगत अवस्थामा सञ्चालन गर्दछ । पार्टी भूमिगत हुन्छ । जनतबिच खुला भै काम गर्न वैधानिक मोर्चा र जनवर्गिय सङ्गठन मार्फत् जनताबिच सङ्गठन र आन्दोलनको कार्यक्रम सञ्चालन गर्दछ । पार्टी भूमिगत हुन्छ । जनताबिच खुला भई काम गर्न वैधानिक मोर्चा र जनवर्गिय सङ्गठनमार्फत् जनताबिच सङ्गठन र आन्दोलनको कार्यक्रम सञ्चालन गर्दछ ।
कम्युनिस्ट पार्टीले आफ्ना राजनैतिक कार्यक्रमलाई दुई भागमा विभाजन गरेर सञ्चालन गर्दछ । एउटा रणनैतिक कार्यक्रम, जुन दीर्घकालीन उद्देश्यसँग सम्बन्धित हुन्छ । अर्काे, कार्यनैतिक कार्यक्रम, जुन दिनदिनैका राजनीतिक गतिविधिसँग सम्बन्धित हुन्छन् । कार्यक्रम सञ्चालन गर्दा कार्यनीतिक कार्यक्रमले रणनैतिक कार्यक्रमलाई सहयोग पुग्ने गरी सञ्चालन गरिएको हुन्छ । जनताकै दैनिकसँग सम्बन्धित भएर आन्दोलन उठाउने र जनतालाई राजनैतिक रूपले सचेत र सङ्गठित बनाउन मदत गर्ने काम कार्यनीतिसँग सम्बन्धित हुन्छन् । ती दिनानुदिनका कार्यक्रमले आमूल परिवर्तनलाई नजिक ल्याउने गरेर सहयोग गरेका र गरिरहेका हुन्छन् ।
कार्यनैतिक योजनाअन्तर्गत पार्टीको भूमिगत संरचनालाई सुरक्षित राख्ने र आमूल परिवर्तनको दिशामा काम गर्न सक्ने वा सहयोग पुर्याउने गरेर सञ्चालन गरिन्छन् । आन्दोलनमा बढीभन्दा बढी जनतालाई सहभागी बनाउने र आमूल परिवर्तनको स्तरमा पुर्याउन र कार्यनीतिक आन्दोलन उठेको बेलामा परिवर्तन गरी रणनैतिक उद्देश्य पूरा गर्ने गरी तालमेल मिलाइएको हुन्छ ।
पुरानो प्रतिक्रियावादी व्यवस्था रहन असम्भव छ । यो व्यवस्थामा परिवर्तन हुन्छ र गराउन सकिन्छ भन्ने कुरा आम जनताले पनि बुझ्नुपर्छ । त्यसका लागि सङ्गठन र सङ्घर्षका उपयुक्त रूप अपनाउन पार्टी कुशल हुनुपर्छ ।
पुराना व्यवस्थाहरू दासप्रथा, सतिप्रथा, राजतन्त्र सबै समाजबाट अस्ताइसकेका छन् । ती व्यवस्थाहरू परिवर्तन भए भने अहिलेको प्रचलित व्यवस्था गणतन्त्र पनि अवश्य जाने छ । जनताले यो व्यवस्था गणतन्त्र पनि अवश्य जाने छ र जनवादी गणतन्त्र स्थापना हुन्छ भन्ने कुरामा विश्वास गर्दैनन् । यो व्यवस्था सधैँ यस्तै रहन्छ जस्तो सोचाइ राख्दछन् ।
सबभन्दा पहिले परिवर्तनमा विश्वास गर्ने बनाउन जरुरी हुन्छ । आफूमाथि भएको अन्याय र थिचोमिचो अरूले होइन, आफैले हटाउन सकिन्छ बरु त्यसका लागि अरूलाई पनि सचेत र सङ्गठित बनाउनुपर्छ भन्ने कुरामा विश्वास दिलाउन समय खर्च गर्नुपर्छ ।
कम्युनिस्टका कहिल्यै नसुक्ने मूल जनता नै हुन् । जनता धेरै छन् र अवसरवादीबाट उपयोग हुँदा हैरानी ब्यहोरेका पनि छन् । त्यसकारण उनीहरूको राजनैतिक चेतनास्तर उच्च बनाउन लगातार उनीहरूको सम्पर्कमा रहेर काम गर्नुपर्छ । जनताका समस्यालाई लिएर आन्दोलन उठाउने, त्यो आन्दोलनको नेतृत्व गर्ने, आर्थिक व्यवस्थापन गर्ने र वैचारिक खुराक पनि दिँदै गर्ने गरेर आन्दोलनबाट खारिएको पार्टीले मात्र जनतालाई आमूल परवर्तनमा अभ्यस्त बनाउन सक्दछ ।
जनताबिच गएर सङ्गठन बनाउने काम सजिलो छैन । अझै बनाएको सङ्गठनलाई निरन्तर परिचालन गर्न त्यो भन्दा कैयौँ गुना अप्ठेरो काम हो । जस्तो भए पनि त्यो काम पूरा गर्नैपर्छ । त्योभन्दा सजिलो र छिटो अर्काे बाटो छैन ।
लेनिनवादी पार्टीका खास खास विशेषता थिए । पहिलो कुरा त पार्टी मजदुर वर्गको अग्रिम र सङ्गठित दस्ता हो भन्ने कुरामा ध्यानकेन्द्रित गराइएको थियो । मजदुरहरू काम गरेर शोषित हुने र पुँजीपति वर्गलाई नाफा गराउने समुदाय हुन् । त्यसैले आफूले श्रम बेचेर खर्च टार्ने र आफ्नो पार्टीमा बढी समय निकालेर आफू जस्ता हजारौँहजार श्रमजीवी वर्गको मुक्तिका लागि आफूले सकेसम्म धेरै योगदान दिनुपर्छ भन्ने कुरामा सचेत बनाइएको थियो ।
दोस्रो कुरा, पार्टीलाई सर्वहारा वर्गको उच्च रूपको सङ्गठन बनाउनुको साथै अधिनायकत्वको साधन बनाइएको थियो । सर्वहारा वर्ग सबैभन्दा बढी शोषित, उत्पीडित वर्ग हो । उसलाई आफ्नो पसिना नबगाएसम्म कसैले आवश्यकता पूरा गरिदिन्नन् । एकातिर, आफ्ना निम्नतम आवश्यकता पूरा गर्न श्रम गर्नुपर्ने, अर्काेतिर, आफ्नो वर्गको पार्टीस्थापना र सञ्चालन गर्न पनि बढीभन्दा बढी मिहिनेत गर्नुपर्ने हुनाले सर्वहारा वर्गको महान् जिम्मेवारी हुन्छ । आफ्नो त्यो जिम्मेवारी पूरा गर्नका लागि अधिनाकत्वसहित कार्यसम्पादन गर्न बढीभन्दा बढी ध्यान पुर्याउनुपर्दछ ।
तेस्रो कुरा, पार्टी गुटबन्दीसँग मेल नखाने सङ्कल्प एकताको प्रतीक हो । पार्टीमा गुटबन्दी गर्न र कसैलाई नजिक र कसैलाई टाढा बनाउने काम सही होइन । सबै सदस्यहरू जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने हुन्छ । आपसमा आफै गुटबन्दी गर्न लाग्ने हो भने जनता सचेत पार्ने, सङ्गठित पार्ने र आन्दोलनमा सहभागी बनाएर आमूल परिवर्तन गर्ने काम हुन सक्दैन । सङ्गठनमा अवसरवादी व्यक्तिहरू प्रवेश गरेर एकतामा भाँजो हाल्न लागे भने तिनीहरूलाई गुटबन्दीमा सामेल भएर होइन, पार्टीबाट निष्काशित गरेर पठाएपछि मात्र पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दछ ।
लगातारको सम्पर्क, परिचालन र प्रशिक्षण आदिबाट कार्यकर्ता र जनतालाई सचेत, सङ्गठित तथा व्यवस्थित पार्दै लैजानुपर्छ । पार्टीका अगाडि एकातिर विशाल जनतालाई सङ्गठित गर्नु र अर्काेतिर, शक्तिशाली शत्रुको सामना गर्नुपर्ने हुन्छ । सङ्गठनको दिशा एउटै भएका विभिन्न जनवर्गीय सङ्गठनहरू नभएमा सर्वहारा वर्गले पुँजीका विरुद्ध ठिकसित सङ्गठन चलाउन सक्दैन ।
पार्टी नेतृत्वका कारणले सबैमा एकता कायम हुन्छ । क्रान्तिकारी कार्यकर्ता छोटो समयमा तयार हुन्छन् र जनतालाई सचेत र सङ्गठित पार्न सक्दछन् भन्ने कुरा सही होइन । नेतृत्वसँग लगातारको सम्पर्क, आफ्नो कर्तव्यबाट विचलित नभइकन लगातारको अध्ययन र जनतासँगको जीवित सम्पर्क—तीनओटै पक्ष अति आवश्यक छन् । फेरि सम्पर्कमा आउनेजति सबै क्रान्तिकारी भइहाल्छन् भन्ने पनि होइन । क्रान्तिकारी बन्ने काम पनि तयारी वा बनिबनाउ अवस्थामा हुन्छ भन्ने पनि होइन ।
मजदुरकै कुरा गरौँ । कम्युनिस्ट पार्टी मजदुरको पार्टी हो । मजदुरमा आफ्नो मुक्तिकामी विश्वदृष्टिकोण हुन्न । बाहिरबाट बुद्धिजीवीले मजदुरलाई माक्र्सवादको सिद्धान्त घुसाउनुपर्छ । बुद्धिजीवीहरू उच्च सुविधामा रहेका बौद्धिक व्यवसायी हुन् । उनीहरूलाई कम्युनिस्ट पार्टीले सम्पर्कमा ल्याएर सचेत र सङ्गठित बनाउनुका साथै माक्र्सवादी दर्शनको प्रशिक्षकको रूपमा विकसित गराउनुपर्छ, तब मात्रै मजदुरलाई माक्र्सवादसँग परिचित बनाउन सकिन्छ । यो सबैका छिट्टै र सजिलै सम्पन्न हुन्न, समय लाग्छ र मिहिनेत गर्न र पसिना बगाउन सक्नुपर्छ ।
लेनिनवादी शैली दुईओटा कुराहरू मिलेर बनेको हुन्छ : एउटा– रुसी क्रान्तिकारी जोशले विचारलाई प्रेरणा दिन्छ । बन्धन तोडेर नयाँ सम्भावनाको ढोका खोलीदिन्छ । दोस्रो– अमेरिकी कार्यदक्षता कुनै पनि विघ्नबाधाको अगाडि नझुक्ने अदम्य शक्ति हो । सुरुदेखि अन्त्यसम्म काममा लागिरहन्छ ।
यी दुवै मिलेपछि लेनिनवादी कार्यशैली बन्दछ र विजय हासिल हुन्छ ।

