लोकेन्द्र पौडेल, दक्षिण भारत ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नाई उत्तर नगर समितिद्वारा सञ्चालित अल्वारपेट एरिया समितिको १४औं वार्षिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रवि अधिकारीको अध्यक्षतामा ११ पूर्ण र तीन वैकल्पिक गरी १४ सदस्यीय समिति चयन गरेको छ भने तीन जनालाई सल्लाहकार चयन गरेको छ ।
समितिको उपाध्यक्षमा पदम गिरी, सचिव कोटीप्रसाद पोख्रेल, सहसचिव विष्णुबहादुर थापा क्षेत्री र कोषाध्यक्ष विष्णुबहादुर सुनार चयन हुनुभएको छ भने सदस्यहरुमा मानबहादुर केसी, काशीराम शर्मा, फनराम कलाथोकी, नेत्रप्रसाद शर्मा, दिलीप विक, तिलकसिंह केसी तथा वैकल्पिक सदस्यमा शंकर विक, नरबहादुर थापा र देवीराम विक रहनुभएको छ । यस्तै, देवी थापा क्षेत्री, सुरज विश्वकर्मा र सीता शर्मालाई सल्लाहकार चयन गरिएको छ ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई उत्तर नगर समितिका उपाध्यक्ष तेजेन्द्र पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चेन्नाई पश्चिम नगर समितिका सहसचिव नेत्रलाल शर्मा र पश्चिम नगर समितिका सदस्य राज कुमार सुनारले अतिथिको आसनग्रहण गर्नु भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अथिति तेजेन्द्र पुनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बारेमा जानकारी गराउँदै मूल प्रवाहले प्रवासी नेपालीहरूको बिचमा खेलेको भूमिका र भारतमा रहेका प्रवासीहरूको समस्यासँग संघर्ष गर्ने यही एउटा सच्चा संगठन भएको बताउनुभयो । उहाँले सबै नेपालीहरुलाई मूल प्रवाहको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नु भएको थियो ।
मूल प्रवाहलाई समाप्त पार्न विभिन्न खाले अवसरबादी र व्यक्तिवादी सोच भएका व्यक्तिहरू लागिपरेको बताउँदै यस्ता खाले अवसरवादीहरु मूल प्रवाहको अगाडि कुनै हालतमा सफल हुन नसक्ने र उनीहरूको अन्त निश्चित भएको बताउनु भयो । यस्ता तत्वहरुसँग सावधान रहन आग्रह समेत गर्नुभयो।
त्यस्तै पश्चिम नगर समितिका सहसचिव नेत्रलाल शर्मा र राजकुमार विकले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। भने एरिया समितिको तर्फबाट काशीराम शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
नगर उपाध्यक्ष तेजेन्द्र पुन र पश्चिम नगर समितिका सहसचिव नेत्रलाल शर्मा दुई सदस्य रहेको अध्यक्षमण्डल पश्चात दोस्रो चरणको कार्यक्रम बन्दसत्र सुरु भएको थियो । बन्दसत्रमा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन कोटी प्रसाद पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन एकमतले पारित भएको थियो।
त्यसपछि अध्यक्ष मण्डलको तर्फबाट तेजेन्द्र पुनले समितिमा पर्ने सदस्यहरूको नामावली र समितिको संख्या प्रस्तुत गर्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई प्रमुख अथिति तेजेन्द्र पुन, नेत्र शर्मा र राज कुमार विकले बधाई तथा शुभ कामना दिनु भएको थियो । साथै नवनिर्वचित अध्यक्ष रवि आधिकारिले समितिको तर्फबाट सपथ लिनु भएको थियो ।
मान बहादुर केसीको अध्यक्षता तथा कोटीप्रसाद पोख्रेलको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौन धारणा पश्चात विष्णुबहादुर सुनारले स्वागत गर्नु भएको थियो ।

