ढाका । बङ्गलादेश कृषक समितिको चौधौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राजधानी ढाकानजिकैको बोगुरा सहरमा उक्त सम्मेलन सम्पन्न भएको हो ।
नेपालबाट अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र महिला किसान इन्चार्ज सावित्रा ढकालको सहभागिता रहेको सो सम्मेलन फेबु्रअरी १६ र १७ (२०२३) मा सम्पन्न भएको थियो ।
पहिलो दिन सम्मेलनको उद्घाटन कृषक समितिका अध्यक्ष एसएमए सबुर र बङ्गलादेश कम्युनिस्ट पार्टीका अध्यक्ष शाह आलमले बङ्गाली क्रान्तिकारी किसानगीतका साथ कृषक समिति र कम्युनिस्ट पार्टीको झन्डोत्तोलन गर्दै गरिएको थियो ।
उद्घाटन समारोह एसएमए सबुरको अध्यक्षता र जनरल सेक्रेटरी काजी सज्जाद चन्दनको उद्घोषणका साथ सुरु भएको थियो ।
उद्घाटन समारोहमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, महिला किसान इन्चार्ज सावित्रा ढकाल, भारतीय किसान सभाको तर्फबाट तरित चक्रवर्ती, जर्मनबाट एमएलपिडीका किसान नेता गेयर्ड जिटनर एसेन तथा बङ्गलादेशका विभिन्न सङ्गठनका किसान नेताहरूको आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा अप्फाका अध्यक्ष भैरवराज रेग्मीले बङ्गलादेशको कृषक समिति र अखिल नेपाल किसान महासङ्घ (अप्फा) भ्रातृत्व सम्बन्ध निर्माण गरेका सङ्गठन भएको जानकारी दिनुभयो ।
उहाँले दुवै देशका किसान सङ्गठनमाझ समान राजनीतिक धारणा रहेको र दुवै सङ्गठनले साम्राज्यवादको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरिरहेको पनि बताउनुभयो ।
‘दुवै देशका सामन्त र दलाल पुँजीवादले किसानमाथि अन्याय, अत्याचार, शोषण, दमन गरिरहेका छन् । दुवै देशका प्रतिक्रियावादी राज्ययनत्रले किसानमाथि दमन गरिरहेका छन् । दुवै देशका किसान सङ्गठनद्वारा यस प्रकारको दलाल पुँजीपति वर्गको विरुद्ध किसान आन्दोलनलाई अगाडि बढाइरहेका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘यस प्रकारको सङ्घर्षलाई सफलतापूर्वक सञ्चालन अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता पर्दछ । त्यसैले यो सङ्गठन र सम्मेलनप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौँ ।’
सन् २०१६ मा नेपालमा सफलतापूर्वक सम्पन्न भएको प्रथम विश्व किसान सम्मेलनको स्मरण गर्दै अप्फा अध्यक्ष रेग्मीले दोस्रो किसान सम्मेलन बङ्गलादेशमा गरिने निर्णय कोभिडको कारण हुन नसकेकाले अब त्यो सम्मेलन गर्न बङ्गलादेशलाई आह्वान गर्नुभयो ।
बङ्गलादेशका किसान नेता र कार्यकर्ताहरूले नेपालमा आएर प्रथम विश्व किसान सम्मेलनमा सहभागी हुनुभएकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले बङ्गलादेशको किसान सङ्गठन र नेपालको किसान सङ्गठनमाझ हार्दिकतापूर्ण भाइचारा सम्बन्ध भएको दोहोर्याउनुभयो ।
सम्मेलन सफलताको कामना गर्दै नेकपा (मसाल) मा महामन्त्री मोहनविक्रम सिंहले पनि शुभकामना पठाउनुभएको थियो ।

बङ्गलादेशलगायत सबै राष्ट्रका किसान नेताहरूले सम्मेलनको सफलताको शुभकामना र ऐक्यबद्धता व्यक्त गर्नुभयो ।
दसौँ हजार किसानको जुलुससहित सम्पन्न उक्त सम्मेलनमा किसानका झाँकी, ध्वजापताका, सांस्कृतिक कार्यक्रम र नारा लगाइएको थियो ।
दोस्रो दिन फेबु्रअरी १७ को बन्दशत्रमा अन्तर्राष्ट्रिय भाइचारा ऐक्यबद्धता कार्यक्रम राखिएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा), बङ्गलादेश कृषक समितिका वरिष्ठ नेता, बङ्गलादेश कम्युनिस्ट पार्टीका नेता, भारतीय किसान सभा, जर्मनीको एमएलपिडीका किसान नेतालाई स्वागत गर्दै रातो खादा ओढाइएको थियो भने बङ्गलादेशको कृषक समितिको तर्फबाट किसानको झन्डा उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा अप्फाको तर्फबाट भैरवराज रेग्मीले लिखित वक्तव्य वाचन गर्नुभएको थियो भने भारत र जर्मनीका किसान नेताले सम्बोधन गर्नुभएको थियो ।
सम्मेलनले एमएसए सबुर अध्यक्ष र काजी सज्जाद चन्दन महासचिवसहित ६५ जनाको केन्द्रीय समिति चयन गरेको छ ।
बङ्गलादेशमा ६५ जिल्ला र आठ प्रादेशिक इलाका रहेका छन् । त्यहाँको जनसङ्ख्या २० करोडभन्दा माथि छ ।

