काठमाडौँ । महाशिवरात्रिको अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।
२०७९ फागुन ६ गते शनिबार बिहान ३ बजेअघिदेखि नै पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।
जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भिड देखिन्छ । दर्शनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयम्सेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवम् त्यसका अन्य शिवालयमा पनि भक्तजनको भिड लागेकोे छ ।

बिहानदेखि नै भक्तजनको घुइँचो
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भिड लागेको छ । पशुपतिनाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठुलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ ।
महाशिवरात्रि भव्य रूपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
यसपटक पनि ठुलो सङ्ख्यामा योगी, साधु, सन्तसहितको आवागमन छ । त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ ।
तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ । हिन्दु धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इन्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन् । महाशिवरात्रिका अवसरमा भारतका गोवद्र्धधन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यसपटक नेपाल आएका छन् ।
