दाङ । नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले एमसीसी पारित गरेर राजनीतिक दलहरुले राष्ट्रियतासँग खेलवाड गरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भण्डारीले अमेरीकाले एमसीसीको माध्यमबाट नेपाललाई रणमैदान बनाउन चाहेको बताउनु भयो ।
नेता भण्डारीले गणतन्त्र पक्षधरहरूको आडमै प्रतिगमनकारी शक्ति सलबलाउन थालेकोतर्फ सचेत पनि गराउनुभयो । ठूला भनिएका दलहरूको गलत चरित्र तथा भ्रष्ट क्रियाकलापका कारण प्रतिगमनकारीले टाउको उठाउने मौका पाएको उहाँको भनाई थियो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले संघीयताका कारण देशमा आर्थिक संकट आएको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाले शुरू देखि नेपालमा संघीयता गलत भएको बताउँदै आएको तर अन्य दलहरूको अदुरदर्शी निर्णयका कारण देश गम्भीर संकटमा फसेको उहाँले बताउनु भयो । अझै पनि संघीयता खारेज नगरे देश असफल राष्ट्र हुने उहाँको चेतावनी थियो ।
राष्ट्रिय जनमोर्चाका तुलसीपुर नगर अध्यक्ष श्यामलाल पोख्रेललेसमेत सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन ऋषिराम पौडेलले गर्नु भएको थियो।