सप्तरी । लघुवित्त वित्तिय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि सप्तरीमा एक महिलाले आत्महत्या गरेकी छन् ।
कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेलले पासो लगाएर आत्महत्या गरेकी हुन् ।
सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि एकजना साहुको नाममा पास गरी ऋण लिएका भुजेल परिवारको २५ लाख बढी ऋण छ ।
स्थानीका अनुसार इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको महुली शाखा, स्वावलम्बन लघुवित्त विकास बैंकको महुली शाखामा लामो समयदेखि शान्ता आवद्ध थिइन्।
गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरमै पुगेर सबै सामान लागेपछि उनी निकै तनावमा रहँदै आएकी थिइन् ।
शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए।
यसअघि गत पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए ।
त्यसको एक दिन अघि काठमाडौंमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले ऋण तिर्न नसकेर संसद भवनअगाडि आत्मदाह गरेको घटना चर्चामा आएको थियो ।