काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । आज (सोमबार) नेपाल आइपुगेका क्वात्राले आजैदेखि राजनीतिक भेटघाट थालेका हुन्।
उनले सोमबार परराष्ट्र मन्त्रालयमा नेपालस्थित समकक्षी भरतराज पौड्याललाई भेटेर संवाद गरेका छन्। क्वात्राले सोमबार नै परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने भएका छन्।
यस्तै, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ।
क्वात्राले मधेशवादी दलका नेताहरुसँग पनि छुट्टै भेटघाट गर्दैछन् । उनले मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि भेट्ने भएका छन्। त्यसैगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरुलाई पनि भेट्ने सम्भावना छ।
यस्तै, अर्को सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि उनको भेटवार्ता हुने छ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आएका क्वात्राले राजनीतिक भेटघाटलाई तीब्रता दिएका हुन् ।