काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ मा दिएको सार्वजनिक बिदाप्रति चौतर्फी आलोचना भएको छ । सरकारी बिदालाई अधिकांश निजी तथा सार्वजनिक संस्थाहरुले ‘अवज्ञा’ गरिदिएका छन् ।
काठमाडौं उपत्यकाका अधिकांश विद्यालय खुलेका छन् भने बैंक, वित्तिय संस्थालगायत कार्यालयहरु पनि खुलै छन् ।
सरकारले ‘जनयुद्ध दिवस’ मनाउन दिएको बिदाप्रति सामाजिक सञ्जालमामेत ब्यापक विरोध भएको छ । सत्तारुढ दलकै नेताहरुले समेत सरकारको आलोचना गरेका छन् ।
आफ्नै पार्टी संलग्न सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनावश्यक ठानेका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धि हो– गणतन्त्रको स्थापना। गणतन्त्र दिवसले ती सबैको यथोचित् सम्मान भएको थिएन र ?’
एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि सरकारले जनयुद्ध दिवसको बिदा दिएर समाजमा विभाजन ल्याउन खोजेको आरोप लगाएका छन्।
‘माओवादीको न संसदमा बहुमत छ न सरकारमा। उसलाई ‘जनयुद्ध’ जति प्रिय छ, अरूलाई त्यति नै अप्रिय छ’, रिजालले पनि सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसैले ११ प्रतिशतले ८९ प्रतिशतमाथि आफ्नो निर्णय लाद्नु कदापि बुद्धिमानी होइन। अरूलाई अक्करमा पारेर माथि हात पारेको ठान्नु आत्मरति मात्र हुन्छ।’
यस्तै, नेता भीम रावल लेख्छन्, ‘कुनै राजनीतिक दलको आस्था र घोषणा नै राष्ट्रिय दिवस मानेर विदा दिनु सर्वथा अनुचित छ। जनयुद्धु लाइ माओवादी दलहरूले दिवसका रूपमा मनाउन सक्छन् । तर यो देशमा विदा दिनुपर्ने राष्ट्रिय दिवस कसरी हुन्छरु राजनीतिमा राष्ट्रिय दिवस या त कानूनले व्यवस्था गरे अनुरूप हुनुपर्छ या सर्वसम्मतिबाट ।’
एमालेकै अर्का नेता गोकुल बास्कोटाले प्रधानमन्त्रीले बिदा बढी भयो भनेर पूर्व देखाएर पश्चिम हानेको भन्दै कटाक्ष गरेका छन् ।
‘अस्तिसम्म बिदा बढी भो भन्थे–प्रम पुष्पकमल दाहाल किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ’, सामाजिक सञ्जालमा ट्वीट गर्दै बाँस्कोटाले लेखेका छन्, ‘तैं चुप मैं चुप। मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।’
यस्तै, सरकारले जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु समेत असन्तुष्ट देखिएका छन्।
कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले दिन खोजेको सन्देशबारे प्रश्न गरेका छन्।सरकारको यो निर्णयले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछ ? भन्दै कोइरालाले प्रश्न गरेका छन्।
‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ’, कोइरालाले भनेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’
कांग्रेसको इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै नेतात्रय डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र गुरु घिमिरेले पनि सरकारको आलोचना गरेका छन्।
कांग्रेस नेता रिजालले सरकारले जनयुद्ध दिवसका अवसरमा दिएको बिदा बारे कांग्रेसको आधिकारिक धारणा मागेका छन् । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महतलाई पार्टीको आधिकारिक धारणा मागेका हुन् ।
‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित जनयुद्ध दिवसबारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।,’ नेता रिजालले फेसबुकमा लेखेका छन्।
यस्तै, नेता भण्डारीले सरकारले दिएको बिदालाई नागरिकले अपनत्व गर्नै नसक्ने जिकिर गरेका छन्। उनले दिवसलाई द्वन्द्वपीडितहरुसँग जोडेको भए बिदाको औचित्य रहने पनि उल्लेख गरेका छन्।
कांग्रेसका युवा नेता घिमिरेले मुलुकको आर्थिक अवस्था स्मरण गर्दै दिनरात नभनी काम गर्नु पर्ने समयमा सार्वजनिक बिदा बढाउनु गलत भएको टिप्पणी गरेका छन्। ‘देश टाट पल्टिनमात्र बाँकी छ। दिनरात नभनी काम गर्ने बेलामा सार्वजनिक बिदा बढाउनु गलत हो,’ उनले ट्विट गरेका छन्।
घिमिरेले राजनीतिक दलका सबै दिवसहरु राष्ट्रिय दिवस नहुने पनि उल्लेख गरेका छन्।
यस्तै, अर्को सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारको कदमको विरोध गरेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा ‘निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ’ भन्दै उनले लेखेका छन् :
‘नेपालीले नेपाली मारेकोमा ‘दिवस’ मनाउने ? २०४६–६२/६३ कोलाई जनआन्दोलन भन्न मिल्छ, जतिबेला लाखौं सडकमा निस्किए। ४÷५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने ? यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।’
आज (फागुन १) मा माओवादीले मनाउने ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो भने गृह मन्त्रालयले एक सूचना जारी गर्दै त्यसबारे जानकारी गराएको थियो ।