काठमाडौं । भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज (सोमबार) नेपाल भ्रमणमा आएका छन् । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउन लागेका क्वात्राले राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन् । क्वात्राले नेपालमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका नेताहरूसँग पनि भेट्नेछन्।
राष्ट्रपति निर्वाचनको मुखमै छिमेकी भारतका विदेश सचिवले यहाँका नेतासँग कुराकानी गर्न लागेका हुन् । नेपालमा अमेरिकालगायत पश्चिमा देशले पछिल्लो समय बढाएको सक्रियताप्रति भारत सशंकित छ।
दुई सातामा अमेरिकाबाट दुई वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको थियो। त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि सोमबार नै नेपाल आउने क्रममा छिन्। क्वात्रा आएकै दिन अमेरिकी उच्च अधिकारी उत्रनेछिन्।
भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै गर्ने भारत भ्रमणबारे पनि कुराकानी हुने बताइएको छ। प्रचण्डलाई उनले नेपाल भ्रमणको निम्ता दिने बताइएको छ।
क्वात्राले नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। होटल याक एन्ड यतिमा हुने भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ। भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ। नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले कुरै सुन्न चाहेको छैन। तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा समेटेर नक्सा बनायो। त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले अस्वीकार गरिरहेको छ।