काठमाडौं । दुई शक्तिशाली भूकम्पबाट टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५ हजार मानिसले ज्यान गुमाएको पुष्टि भएको छ।
बीबीसीका अनुसार दुवै देशमा गरी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको हो । घाइतेको संख्या ४० हजार नजिक पुगेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सिरियामा ३ लाख मानिस घर छाड्न बाध्य भएका छन्।
आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्।
सरकारप्रति जनआक्रोश बढ्दै गएका बेला टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि आफ्नो सरकारको प्रारम्भिक प्रतिक्रिया त्रुटिपूर्ण रहेको स्वीकार गरेका छन्।
भूकम्पपछि धेरै क्षेत्रका बासिन्दाले उद्धारकर्मी ढिलो पुग्नुका साथै समयमा राहत सामग्री नपाएको गुनासो गर्दै सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए।
डब्ल्यूएचओ र संयुक्त राष्ट्र लगायत विश्वका ७० भन्दा बढी देश सहयोगका लागि जुटेका छन्।