काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् ।
महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे ।
बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताए ।
महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए । विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाई थियो ।
महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा किन गएको ? भनि प्रश्न गरे । उनले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि सो पार्टीप्रति असन्तुष्टि जनाए ।
थापाले भने, ‘पूराना नेताहरुलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको ? सरकारमा किन गएको भनेर भन्न नपर्ने । सरकारको गएको मान्छे फेरि किन बाहिर गएको ? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दाखेरी हामीसँग गरिएको सहमती पालना भएन भन्ने । सहमती कसले पालना नगरेको ? प्रधानमन्त्रीले पालना गरेको ।
सबैभन्दा बढि रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि अहिले सरकार छोडदै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन । कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाँही प्रश्न सोध्नै नहुने हो ?’