काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले ७ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक सहयोगको घोषणा गरेकी छन् ।
नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) को आर्थिक सहयोग घोषणा भएको हो ।
उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो।
यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तिकरण र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको पनि अमेरिकाले जनाएको छ।
युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने अमेरिकाले जनाएको छ।