बेङलोर (भारत) । “राष्ट्र र राष्ट्रियताको रक्षा गरौँ, गणतन्त्रलाई संस्थागत गरौँ र सङ्घीयता खारेजी गरौँ” मूल नाराका साथ राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित एकमहिने विरोध कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गर्दै भारतको बेङलोरमा सभा सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा फेब्रुअरी ३, २०२३ का दिन सो सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य बालकृष्ण गायक हुनुहुन्थ्यो । सो अवसरमा गायकले मुलुक ठुलो दुर्घटनामा पर्ने अवस्थाबारे प्रकाश पार्दै प्रवासी नेपालीलाई प्रवासबाट पनि जागरुक हुनुपर्ने बताउनुभयो । ‘हामीहरू रोजगारीको समस्याले प्रवासमा रहेता पनि राष्ट्र र राष्ट्रियताको रक्षा, २०६२–६३ को महान् जनआन्दोलनद्वारा स्थापित गणतन्त्रको रक्षा र सङ्घीयता खारेजीको लागि नेपाल सरकारसमक्ष खबरदारी गर्दछौँ’ उहाँले भन्नुभयो ।
सो अवसरमा केन्द्रीय सदस्य नरेश विक, क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विक, क्षेत्रीय सदस्य पार्वती विक, क्षेत्रीय सल्लाहकार सदस्य परमानन्द कडायत, क्षेत्रीय वैकल्पिक सदस्य मानबहादुर विकलगायतले सम्बोधन गर्नुभएको थियो ।
चक्रबहादुर रावलको अध्यक्षता र दानबहादुर पहरीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा बेङलोर दक्षिण नगर समितिका कोषाध्यक्ष रमेश विकले स्वागत गर्नुभएको थियो ।