काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८२ वर्ष पुरा गरी ८३ औँ वर्षमा प्रवेश गर्नुभएको छ । केसीको जन्म विस. १९९७ साल माघ २० गते बागलुङ जिल्लाको गलकोटमा भएको थियो ।
केसी सानै उमेरदेखि विद्रोही स्वभावको हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा २०२१ पुस १४ गते बागलुङमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । उहाँको नेतृत्वमा पञ्चायती व्यवस्था र गाउँका जालीफटाहको विरुद्धमा बागलुङमा कम्युनिस्टहरूले अभियान सञ्चालन गरेका थिए ।
नौ महिना जेल जीवन र करिब १८ वर्ष भूमिगत हुनुभएका उहाँ गल्कोट हाईस्कुलमा प्रधानअध्यापक छँदा जिल्लामा राजनीतिक चेतना छर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
विसं २०५१ सालको आम निर्वाचनमा चित्रबहादुर बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएर हारेपनि उहाँले २०५६ को आमनिर्वाचन र २०६४ सालको संविधान सभा सदस्यमा निर्वाचित हुनुभयो । २०७० सालमा समानुपातिक सांसद रहनुभएका केसीको संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका छ ।
२०७२ सालमा भारतले गरेको नाकाबन्दीविरुद्ध सरकारमै गएर संघर्ष गर्ने नीति अनुरुप केसी केही समय उपप्रधानमन्त्रीसमेत बन्नुभयो । सरकारमा जानु भनेको कमाउन हो भन्ने प्रवृतीविरुद्ध केसी खरो उत्रिनुभएको छ । उहाँलाई धनसम्पत्ति, पदप्रतिष्ठा, लोभलालचले फसाउन सकेको छैन ।
सिद्धान्त, निष्ठा, इमानदारिता तथा राजनीतिक नैतिकता भएको नेताको उदाहरण दिँदा उहाँको नाम पहिलो पङ्क्तिमा आउँछ । गाउँले भाषामा, समाजमा प्रचलित उखानटुक्का गाँसेर बोलिने उहाँको भाषण नरुचाउने देशविदेशमा कोही छैन ।
स्पष्ट बोली, निर्भिक अडान र स्वच्छ छविका केसी हाल राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
सामाजिक सञ्जालमार्फत शुभचिन्तकहरुले केसीकाे जन्मदिनको शुभकामना सहित दीर्घायूको कामना गरेका छन् ।