दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संघीयताका कारण देश फिजीकरण र सिक्किमीकरण हुने खतरा बढेको बताउनुभएको छ ।
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले शुक्रबार गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रियता निकै कमजोर भएको बताउनु भयो ।

‘करिब ७० वर्षदेखि नेपाली जनताले संघर्ष गरेर प्राप्त गरेको गणतन्त्र, धर्म निरपेक्षता समेत गुम्ने खतरा बढेको छ । संघीयताका कारण देश फिजीकरण र सिक्किमीकरण भई भारतीय संघमा विलय हुने झन बढी खतरा रहेको छ’ उहाँले भन्नुभयो, ‘त्यसकारण संघीयता खारेजी र गणतन्त्र, धर्म निरपेक्षता जोगाउन सिंगो देशका जनता संघर्षमा उत्रिनुको विकल्प छैन ।’
विरोध सभालाई राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सदस्य केशवराज खनाल लगायत नेताले सम्बोधन गर्नु भएको थियो।

राजमो राप्ती गाउँपालिकाका अध्यक्ष ठाकुर आचार्यको अध्यक्षतामा भएको विरोध सभाको सञ्चालन गिरबहादुर पौडेलले गर्नुभएको थियो भने स्वागत अखिल नेपाल जनजाति सम्मेलन दाङका अध्यक्ष रमेशमान गुरुङले गर्नु भएको थियो।
राजमो जिल्ला समितिको निर्णय अनुसार ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेज गरौं !!’ भन्ने मूल नारासहित भालुबाङमा विरोध सभा सम्पन्न गरेको छ ।
सहिद प्रति एक मिनेट मौधारण गरी शुरु भएको विरोध सभामा कवि कृष्ण गिरीले कविता वाचन गर्नु भएको थियो।