काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता गरेका छन् ।
शुक्रवार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको छ ।
बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नविकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमीकलाई पनि मलेसियाका श्रमीकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताए। उनले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा स्किल सिकाएर पठाउने कुरामा छलफल भएको बताए ।
उनले भने, ‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ । नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’
त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको बताए । त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ । उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकुलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले कामदारहरुका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको बताए ।
३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आउनुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
