काठमाडौं । नेपाल भ्रमणमा आएकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले अमेरिकालाई प्राथमिकतामा राख्न दबाब दिएकी छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले अमेरिकालाई प्राथमिकतामा राख्न र विश्वराजनीतिक विषयमा अमेरिकालाई साथ दिनुपर्ने बताइन् ।
उनले यो भेटका क्रममा पछिल्लो विश्व भूराजनीतिक घटनाक्रमबीच आफ्नो मुलुकलाई प्राथमिकतामा राख्न पनि प्रचण्डलाई आग्रह गरेकी हुन् ।
यस्तै, उनले नेपालको शान्ति प्रक्रियाप्रति पनि चासो राखेकी छन्। अमेरिकाले नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन भइरहेको प्रयासप्रति सकारात्मक रहेको बताउँदै कतिपय विषयहरुको सम्बोधन गर्नुपर्ने उनको आग्रह थियो।
प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका क्रममा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले यीनै मुख्य तीन विषयमा चासो राखेको बालुवाटार स्रोतले जनाएको छ।
नुल्याण्डले नेपालको भूराजनीतिक क्षेत्रीय चासोबारे पनि प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी सरोकार राखेकी थिइन्।
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूहरुले छिमेकी देशसँगको सम्बन्धलाई पञ्चशीलको आधारमा अघि बढाइरहेको बताए। नेपालले लिएको असंलग्न परराष्ट्र नीतिअनुसार अघि बढ्ने जोड प्रधानमन्त्रीको थियो।
‘हामी सकारात्मक छौँ तर, छिमेकी देशसँग सन्तुलन कायम गरेर अघि बढ्छौं,’ प्रधानन्त्रीले जवाफ दिँदै भने, ‘विषयवस्तुका आधारमा साथ र सहयोग हुन्छ।’
यस्तै, प्रधानमन्त्रीले नेपालकै मौलिकतामा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने प्रष्ट पारेको स्रोतले बताएको छ ।
भेटमा नेपालको विकासका लागि अमेरिका तयार रहेको पनि उपविदेशमन्त्रीले बताएकी थिइन्। ‘नेपालको विकसमा सहयोग गर्न तयार छौँ,’ नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष भएको छ, अझै दुई मुलुकबीचको हीतमा सहयोग हुन्छ,’ उनले भनिन्।
भेटमा प्रधानमन्त्रीमा नियुक्त भएकोमा अमेरिकी राष्ट्रपति जोइ बाइडेनले प्रचण्डलाई पठाएको बधाई सन्देश पनि उनले बुझाएकी थिइन्।
आइतबार नेपाल भ्रमणमा आएकी नुल्याण्डले सोमबार प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्।
नेपाल भ्रमणकै क्रममा उनले सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरिन् ।
उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको बताइन्।
न्युलान्डले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर अपराधलाई रोक्न नयाँ प्रविधिमामा सहयोगलाई आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाइन्।
उनले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन्।
न्युल्यान्डले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउने बचन दिइन्।
उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको विश्वास व्यक्त गरिन्।
त्यसअवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको पनि अवलोकन गरिन्। नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
नुल्यान्ड आइतबार साँझ नेपाल आइपुगेकी हुन्। उनी प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण गर्ने कार्यतालिका छ।