इस्लामाबाद । पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ।
उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन् । उनका अनुसार मस्जिद भित्र उद्धार प्रयास जारी छ । शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ ।
पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङ्क्तिमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
घाइते हुनेमा अधिकांश प्रहरी रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतंकवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।(रासस/एएनआई)