काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक पूर्ण इजलासमा २०७९ माघ ११ गते बुधबार भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब सुनुवाइ माघ १३ गते शुक्रबार हुने छ ।
सो मुद्दाको सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए । उनले माघ १३ गते शुक्रबार भने सो मुद्दाको फैसला आउने विश्वाससमेत व्यक्त गरे ।
वरिष्ठ अधिवक्ता पोखरेलले भने– ‘आज मुद्दाको बहस टुङ्गिएन । हेर्दाहेर्दैमा रहेको छ । पर्सि शुक्रबार बाँकी बहस भएर सम्भवत: त्यही दिन फैसला आउने सम्भावना छ ।’
मुद्दाको सुनुवाइ कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा भएको थियो ।
यसैबिच, नेपाली नागरिकता कायम नभएको भन्दै उपप्रधानमन्त्री लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका युवराज घिमिरे सफलले सर्वोच्च अदालतले आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।
बुधबार अपराह्न सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उपप्रधानमन्त्री लामिछानेको पक्षमा फैसला गर्नका लागि दबाब नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई पनि चेतावनी दिए ।
सर्वोच्च अदालतले संविधान, ऐन, नियमावलीमाथि टेकेर आफूहरूको पक्षमा फैसला गर्ने रिट निवेदक सफलको दाबी थियो ।