काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि वार्ता सुरु भएको छ । दुवै दलले बनाएका पार्टी एकता संयोजन समितिबीच वार्ता भएको हो ।
आइतबार भएको पहिलो चरणको वार्ता सकारात्मक भएको र केही प्राविधिक कुराबाहेक धेरै कुरा मिलिसकेको नेताहरुले बताएका छन् ।
एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालका अनुसार आइतबारको बैठकमा दस्तावेज आदान प्रदानसहित सकारात्मक वार्ता भएको छ भने अबको बैठकलाई निर्णायक बनाउनेगरी तयारी भइरहेको छ ।
दुई पार्टीबीच धेरै कुराहरु मिलेको भुसालले बताए। दुई पार्टीबीच केही सैद्धान्तिक र वैचारिक भिन्नता समेत रहेको भन्दै त्यस विषयमा छलफल जारी राख्ने उनले बताए।
चन्द्रदेव जोशीले नेृतत्व गरेको नेकपा संयुक्तसँग पनि एकता गर्नेगरी तयारी भएको उनले बताए।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएपछि साविक एमाले र माओवादी अलग अलग भएका थिए। एमालेबाट पनि अलग भएको एकीकृत समाजवादीले पुनः माओवादीसँग पार्टी एकता गर्ने गरी वार्ता थालेको हो।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको आइतबार (८ माघ) को वार्तामा माओवादी केन्द्रका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडल सहभागी थिए।