चेन्नै (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ” भन्ने मूल नारासहित राजमोद्वारा स्वदेशमा देशव्यापी रूपमा सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सभा सम्पन्न गरिएको छ ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको प्रमुख आतिथ्य र क्षेत्रीय सदस्य बिरे थापाको आतिथ्य रहेको थियो । राष्ट्रियता, गणतन्त्रप्रति राजनीतिक दलहरूले विदेशी शक्तिकेन्द्रको दबाबमा २०७२ को संविधान नै निष्क्रिय बनाउने षड्यन्त्रमा लागेको वक्ताहरूले जोड दिनुभएको थियो ।
प्राप्त सीमित अधिकार पनि गुम्ने खतरा उत्पन्न भएकाले संसारको जुनसुकै कुनामा रहेर पनि देशभक्त नेपालीले सङ्घर्षमा जुट्नु नै आजको प्रमुख आवश्यकता रहेको वक्ताहरूको भनाइ थियो ।
नेपाली जनताको चाहना विपरीत विदेशी शक्तिले बोकाइदिएको सङ्घीयताको भारी देशले धान्न नसकेकाले सङ्घीयतालाई खारेज गर्नुपर्ने प्रमुख अतिथि चन्द्रकान्त शर्माले जोड दिनुभयो । भारतस्थित नेपालीहरूको तर्फबाट देशमा चल्ने आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको र भावी दिनमा पनि कायम रहने विश्वास रहेको पनि शर्माको भनाइ थियो ।
त्यस्तै, नगर समितिबाट लोकेन्द्र विक, रूपा थापा, कस्तुरी थापा, सीता नेपाली र लक्ष्मी परियारले पनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रम टेकबहादुर विकको अध्यक्षता, मीना हमालको सञ्चालन र सहिदप्रति एक मिनेट मौनधारणपछि मधु खनालले कार्यक्रममा सहभागीलाई स्वागत गर्नुभएको थियो ।